सन् २०२५ र २०२६ मा विश्व आर्थिक वृद्धिदर २.९ प्रतिशतमा झर्ने ओईसीडीको प्रक्षेपण

काठमाडाैं । अन्तर्राष्ट्रिय आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी)ले सन् २०२५ र २०२६ मा विश्व आर्थिक वृद्धिदर घट्ने बताएकाे छ ।
ओईसीडीले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनमा सन् २०२४ मा अनुमान गरिएको ३.३ प्रतिशतको विश्व आर्थिक वृद्धिदर आगामी वर्षहरूमा घट्दै सन् २०२५ र २०२६ मा २.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरेकाे हाे ।
यो प्रक्षेपण अहिले कायम रहेका भन्सार शुल्कका दरहरू २०२५ मे महिनासम्म परिवर्तन नहुने अनुमानमा आधारित छ, यद्यपि केही कानुनी विवाद अझै खुला छन्।
यदि अन्तर्राष्ट्रिय व्यापारमा हाल देखिएको असहजता, कर्जा तथा लगानीमा देखिएको कडाइ, र उद्योग तथा उपभोक्ताको घट्दो भरोसा यथावत् रहे भने विश्व आर्थिक प्रणालीले गम्भीर धक्का खान सक्ने प्रतिवेदनले भनेकाे छ ।
नीतिगत अनिश्चितता र बदलिंदो विश्व व्यापार वातावरणले अर्थतन्त्रलाई अझै अस्थिर बनाउने खतरा रहेको भन्दै ओईसीडीले सबै पक्षलाई सजग रहन समेत आह्वान गरेको छ।