हस्तकला क्षेत्रको विकासमा बजेटले मार्ग प्रसस्त गर्छ: महासंघ « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

हस्तकला क्षेत्रको विकासमा बजेटले मार्ग प्रसस्त गर्छ: महासंघ



काठमाडाैं । नेपाल हस्तकला महासंघले आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको बजेटलाई सकारात्मक र यथार्थपरक भन्दै स्वागत गरेको छ।

बजेटले घरेलु तथा साना उद्योगहरू, विशेषगरी हस्तकला क्षेत्रमा क्रियाशील उद्यमी, व्यवसायी, कलाकार र कालिगढहरूको मनोबल उच्च बनाएको महासंघले जनाएकाे छ।

बजेटले निजी क्षेत्रका धेरै सुझावहरूलाई सम्बोधन गरेको भन्दै यसले उद्यमशीलता प्रवर्द्धन, रोजगारी सृजनासँगै निर्यात अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। प्रत्यक्ष तथा परोक्ष रूपमा ११ लाखभन्दा बढी व्यक्तिहरू संलग्न रहेको र वार्षिक करिब ४४ अर्ब रुपैयाँको कारोबार गर्दै आएको हस्तकला क्षेत्रका लागि यो बजेट मैत्रीपूर्ण रहेको महासंघको ठहर छ।

‘बजेटमा नवप्रवर्तनमा आधारित स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने, सीप विकास र व्यवसाय विस्तारका लागि सहुलियतपूर्ण कर्जा (३ प्रतिशत ब्याजदरमा) दिने, र सुन, चाँदी, काठ, तामा, छालालगायत हस्तकला सामग्रीको उत्पादन तथा बजार विस्तारमा जोड दिइएको छ। साथै, गहना निकासी उद्योगलाई बन्डेड वेयरहाउसको सुविधा, विदेशी मुद्रा अग्रीम भुक्तानीको आधारमा कच्चा पदार्थ खरिद गर्न सक्ने व्यवस्था, र काठजन्य उद्योगलाई आवश्यक मेसिनरी आयातमा भन्सार छुटजस्ता नीतिहरू पनि उल्लेखनीय छन्’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

महासंघले यस बजेटलाई महत्वाकांक्षी नभई यथार्थपरक भनेको छ। यदि बजेटमा उल्लेखित योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा, देशको औद्योगिक विकास र हस्तकलामा आधारित निर्यात वृद्धि हुने विश्वास महासंघले व्यक्त गरेको छ।

तर, महासंघले केही विषयहरू बजेटमा समेटिन नसकेको भन्दै चासो पनि व्यक्त गरेको छ। विशेषतः सुन–चाँदीका गरगहनामा लगाइएको २ प्रतिशत अतिरिक्त करले आन्तरिक कारोबार घट्न सक्ने र यस क्षेत्रमा संलग्न कालिगढहरू पलायन हुन सक्ने खतरा रहेको महासंघको भनाइ छ।

यस्तै, उद्योगीहरूलाई दिइने नगद प्रोत्साहनबारे बजेट मौन रहेको उल्लेख गर्दै, यसबारे सरकारको ध्यानाकर्षण गराइएको छ।


प्रतिक्रिया दिनुहोस्