युएई जाने श्रमिकको न्यूनतम तलब निर्धारण, १ हजार दिरामभन्दा कम तलबमा नपठाइने

काठमाडौं । अब संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली श्रमिकलाई न्यूनतम १ हजार दिराम (झण्डै ३६ हजार नेपाली रुपैयाँ) तलब नपाएसम्म मागपत्र प्रमाणीकरण नहुने भएकाे छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बिहीबार एक महत्वपूर्ण निर्णय गर्दै युएई जाने नेपाली कामदारका लागि तलबको न्यूनतम सीमा तोकेका हुन्।
यसअघि अदक्ष कामदारका लागि न्यूनतम तलब ८ सय दिराम मात्र थियो। अब नयाँ मापदण्ड अनुसार, अदक्ष श्रमिककाे कम्तीमा १ हजार दिराम,अर्धदक्ष श्रमिककाे १,२०० दिराम र दक्ष श्रमिककाे १,५०० दिराम तलब हुनुपर्नेछ।
मन्त्री भण्डारीका अनुसार यो निर्णय परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको परामर्शमा गरिएको हो।
“युएई नेपाली कामदारको प्रमुख गन्तव्य हो। तर, न्यून तलबका कारण उनीहरूको श्रम शोषण भइरहेका थुप्रै उदाहरण छन्,” उनले भने।
उनले थपे, “अबबाट युएई जाने कामदारहरू न्यून तलबको शिकार हुने छैनन्। यो निर्णय नेपाली श्रमिकको हितमा एक ठुलो उपलब्धि हुनेछ।”