नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एशोसिएसनबीच द्विपक्षीय व्यापारिक सहकार्य विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
स्विट्जरल्यान्डको जेनेभामा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा, गत आइतबार ९जुन १०० महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार, रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यास, तालिम, अनुसन्धान, र क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा जानकारी आदानप्रदान गरिनेछ। साथै, लगानी प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइने उल्लेख छ।
महासंघका अध्यक्ष ढकालले समझदारीले व्यापारिक साझेदार पहिचान, बीटुबी सहकार्य, र व्यावसायिक फोरमहरूबीच सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता दुबै पक्षले व्यक्त गरेको जानकारी दिए।
यस्तै, संयुक्त रुपमा उद्यमशीलता प्रवद्र्धन, औद्योगिक सम्बन्ध सुदृढीकरण, मानव संशाधन विकास, व्यवसायिक सुरक्षा, सीप विकास, र लगानी अभिवृद्धिमा समेत काम गरिने बताइएको छ।
क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यो समझदारीले नेपाल र कम्बोडियाबीच नयाँ अवसरहरू सिर्जना गर्ने, क्षेत्रीय सहकार्यलाई मजबुत बनाउने, र दुवै मुलुकका व्यवसायीहरूलाई सञ्जाल विस्तारको बाटो खोल्ने विश्वास व्यक्त गरे।
समझदारी कार्यान्वयनलाई प्रभावकारी बनाउन नियमित परामर्श र आवश्यक व्यवस्था मिलाइने छ। यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागू हुनेछ र ९० दिनअघि सूचना दिएर रद्द गर्न सकिने प्रावधान रहेको छ।
समारोहमा महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, कार्यकारिणी सदस्य बाबुकाजी कार्की तथा क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिति थियो। महासंघले यो साझेदारीले नेपाल–कम्बोडिया आर्थिक सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।