एनआरएनलाई इभेस्टमेन्ट कम्पनीमा सेयर आवेदन दिन बाटो खुला

काठमाडौं। अब गैरआवासीय नेपाली (एनआरएन) हरूले संयुक्त लगानीमा स्थापित इन्भेस्टमेन्ट कम्पनीको सेयरमा लगानी गर्न सहज हुने भएको छ। नेपाल राष्ट्र बैंकले यससम्बन्धी विनियमावली संशोधन गर्दै एनआरएनलाई प्राथमिक सेयर आवेदन दिन सक्ने व्यवस्था गरेको छ।
संशोधित विनियमावलीअनुसार, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०८१ को प्रावधानअनुसार एनआरएनले विदेशी लगानीको स्वीकृति लिनुअघि नै लगानीका लागि आवश्यक रकम नेपालस्थित खातामा भित्र्याउन सक्नेछन्। यस्तो रकम विदेशी लगानीकर्ताको नाममा नेपाल भित्रिसकेपछि, औपचारिक स्वीकृति प्राप्त भइसकेपछि मात्र सेयर आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।
यदि सेयर बाँडफाँटमा परेनन् भने लगानीको रूपमा पठाइएको रकम फिर्ता लिन चाहने एनआरएनले आफूले खाता खोलेको बैंक वा वित्तीय संस्थामार्फत, संयुक्त लगानी कम्पनी वा त्यसका सेयर रजिस्ट्रारको सिफारिससहित, राष्ट्र बैंकमा निवेदन दिनुपर्नेछ।
त्यस्तै, संशोधित विनियमावलीले विदेशी लगानीकर्ताले नेपालमा भुक्तान गर्नुपर्ने करको रकम सम्बन्धित कम्पनी, उद्योग वा कर कार्यालयको नाममा बैंकिङ प्रणालीमार्फत पठाउन सकिने व्यवस्था गरेको छ। यस्तो रकम भित्र्याउनका लागि राष्ट्र बैंक वा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अतिरिक्त स्वीकृति आवश्यक नपर्ने उल्लेख गरिएको छ।
यदि अनुमानितभन्दा बढी रकम नेपाल भित्रिएको खण्डमा, सो रकम फिर्ता गर्नका लागि निवेदन प्राप्त भएपछि आवश्यक प्रक्रिया पुर्याई राष्ट्र बैंकले स्वीकृति दिने प्रावधान समेत विनियमावलीमा राखिएको छ।