‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’मा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । गत जेठ २३ गतदेखि निष्कासन भएको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत यो स्किम शुक्रबारदेखि निष्कासन तथा बिक्री खुलाएको थियो ।
यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो । यस स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो ।
कुल ४ करोड इकाईमध्ये ३०–३० लाख इकाई प्रभु बैंक र प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी २ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यो स्किमको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।
कोष प्रबर्धक प्रभु बैंकलाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ र योजना व्यवस्थापक प्रभु क्यापिटललाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी एएमसी क्वालिटि ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ ।