नेपाल राष्ट्र बैंकले खारेज गर्यो पेवेल नेपाल र सजिलो पेको लाइसेन्स

काठमाडौं । भुक्तानी सेवा प्रदायक (डिजिटल वालेट) पेवेल नेपाल तथा सजिलो पे पेमेन्ट सर्भिसेजको लाइसेन्स खारेज भएकाे छ।
नेपाल राष्ट्र बैंकले २०७७ असोज ११ मा इजाजत पाएको पेवेल नेपाल र २०७७ चैत १७ मा इजाजत पाएको सजिलो पे पेमेन्ट सर्भिसेजको इजाजत खारेज गरेकाे हाे।
दुवै कम्पनीले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५, भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१, र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न व्यवस्थाहरूको उल्लंघन गरेपछि राष्ट्र बैंकले तिनीहरूको इजाजत खारेज गरेको जनाएको छ।
हुन्डी कारोबार र विदेशी विनियम अपचलनमा संलग्न भएको पाइएपछि राष्ट्र बैंकले यी दुबै संस्थाका कारोबार रोक्का राखेको थियो।
राष्ट्र बैंकको ५ असार २०८२ को सञ्चालक समितिको निर्णय अनुसार, यी संस्थाहरूको इजाजतपत्र खारेज गर्ने निर्णय भएको छ। भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) अनुसार यी संस्थाहरूको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
