दिगो व्यवसायका लागि ईएसजी मापदण्ड अवलम्बन अपरिहार्यः चन्द्र ढकाल « Arthapath.com
६ असार २०८२, शुक्रबार

दिगो व्यवसायका लागि ईएसजी मापदण्ड अवलम्बन अपरिहार्यः चन्द्र ढकाल



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दिगो आर्थिक भविष्य निर्माणका लागि वातावरणीय, सामाजिक र सुशासन मापदण्ड (ईएसजी) अवलम्बन अपरिहार्य भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा महासंघद्वारा आयोजित कार्यशालामा अध्यक्ष ढकालले ईएसजीलाई केवल ट्रेन्ड नभई दीर्घकालीन व्यवसायिक सफलता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि अनिवार्य पाटोका रूपमा व्याख्या गरे।

‘नेपालजस्ता उदीयमान अर्थतन्त्रहरूका लागि ईएसजीले नयाँ सम्भावना र लगानी आकर्षणको ढोका खोलिदिन सक्छ,’ उनले बताए। उनले वातावरणीय, सामाजिक उत्तरदायित्व र सुशासनलाई समेट्ने नीति र अभ्यासले व्यवसायहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा ढकालले महासंघले विगतमा छुट्टाछुट्टै रूपमा वातावरणीय स्थायित्व,सामाजिक पहल तथा सुशासन सम्बन्धी गतिविधि सञ्चालन गरे पनि अब ती प्रयासहरूलाई एकीकृत रणनीतिक ढाँचामा लैजाने योजना अघि सारे।

नेपाल राष्ट्र बैंकले ल्याएको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशिकालाई स्वागत गर्दै उनले ३० भन्दा बढी कानुनी संशोधनले देशभित्र तथा बाहिरका लगानीकर्तालाई थप आकर्षित गर्ने विश्वास व्यक्त गरे।

कार्यशालामा सहभागी निजी क्षेत्र, नीतिनिर्माता, सरोकारवाला र अन्तर्राष्ट्रिय साझेदारहरूले ईएसजी मापदण्डलाई मुख्यधारामा ल्याउन समन्वित प्रयास आवश्यक रहेको धारणा राखे। सहभागीहरूमाझ गरिएको सर्वेक्षणबाट भविष्यका तालिम तथा क्षमता विकासका प्राथमिकता पहिचान गरिने जानकारी पनि दिइयो।

महासंघले यसपछिल्लो चरणमा कोशी प्रदेशमा समेत ईएसजीसम्बन्धी कार्यशाला सञ्चालन गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्