व्यापार र उत्पादन क्षमता विस्तार गर्दै मारुती सिमेन्ट, ३३ महिनामा १३ अर्ब बढीको कारोबार « Arthapath.com
९ असार २०८२, सोमबार

व्यापार र उत्पादन क्षमता विस्तार गर्दै मारुती सिमेन्ट, ३३ महिनामा १३ अर्ब बढीको कारोबार



काठमाडौं । नेपालमा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कम्पनीले पछिल्लो समय व्यापारिक प्रगति र उत्पादन क्षमताको विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ ।

स्थापनाको तीन दशकपछि पनि कम्पनीले बजारमा आफ्नो प्रभाव कायम राख्दै क्लिंकर तथा सिमेन्ट उत्पादनको दायरालाई थप व्यापक बनाउने तयारीमा छ ।

राठी ग्रुप र गोयल ग्रुपको संयुक्त लगानीमा सन् १९९४ मा स्थापना भएको यो कम्पनीले मारुती ब्रान्डअन्तर्गत बजारमा सिमेन्ट आपूर्ति गर्दै आएको छ । हाल कम्पनीले देशभर २०० भन्दा बढी डिलरमार्फत वितरण सञ्जाल निर्माण गरेको छ ।

हाल कम्पनीका अध्यक्ष नन्दकिशोर राठी छन् । कम्पनीमा व्यवस्थापन निर्देशकको जिम्मेवारी सुनिल खेम्काले सम्हालिरहेका छन् ।

चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीले करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । सन् २०२५ को उक्त अवधिमा कम्पनीको कुल कारोबार ३ अर्ब ९८ करोड ५० लाख रुपैयाँ पुगेको छ । सन् २०२३ देखि यता मात्रै कम्पनीले १३ अर्ब ७ करोड ७० लाख बढीको व्यापार गरेको छ ।

गत वर्ष सन् २०२४ मा कम्पनीले ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा ९.५३ प्रतिशत धेरै हो । सन् २०२३ मा कम्पनीले ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

हाल कम्पनीसँग दैनिक १५ सय मेट्रिक टन क्लिंकर र २ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । अब यस क्षमतालाई थप विस्तार गर्दै क्लिंकर उत्पादन क्षमता दैनिक १८ सय मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता ४ हजार मेट्रिक टन पु¥याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

नेपालको निर्माण क्षेत्रमा भरपर्दो ब्रान्डको रूपमा उभिएको मारुती सिमेन्टले गुणस्तरीय उत्पादन, व्यापक वितरण सञ्जाल र दीर्घकालीन व्यापार रणनीतिमार्फत आफ्नो उपस्थिति थप मजबुत बनाउँदै लगेको छ । कम्पनीले हालसम्म ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । निकट भविष्यमा उत्पादन विविधिकरणको योजना रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ६ अर्ब ४९ करोड ६० लाख रुपैयाँको क्रेडिट रेटिङ गराएको छ । यसमध्ये ३ अर्ब ९० करोड २८ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि र २ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि छुट्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्