इजरायल–इरान युद्धले संकटमा अन्तर्राष्ट्रिय हवाई क्षेत्र, नेपाललाई कस्तो पर्छ असर ? « Arthapath.com
९ असार २०८२, सोमबार

इजरायल–इरान युद्धले संकटमा अन्तर्राष्ट्रिय हवाई क्षेत्र, नेपाललाई कस्तो पर्छ असर ?



काठमाडौं । इजरायल र इरानबीच करिब एक सातादेखि जारी द्वन्द्वले अन्तर्राष्ट्रिय हवाई मार्गमा ठूलो अवरोध सिर्जना गरेको छ। विभिन्न देशहरूले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि दर्जनौं अन्तर्राष्ट्रिय उडानहरू रद्द वा मार्ग परिवर्तन भएका छन्, जसले वैश्विक उड्डयन क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ।

विश्वकै व्यस्त हवाई मार्गमध्ये एक मानिने इराकको पूर्वी आकाशमार्ग बन्द हुँदा युरोप र खाडी देशहरूबीचको उडान आवागमन गम्भीर रूपमा प्रभावित भएको छ।

इराकले अघिल्लो शुक्रबारदेखि नै सबै विमानस्थलमा उडान स्थगन गर्दै आफ्नो आकाशमार्ग पूर्ण रूपमा बन्द गरेको छ।
त्यसैगरी, इमिरेट्स एयरलाइन्सले इराक, जोर्डन, लेबनान र इरानका लागि हुने सबै उडान ३० जुनसम्मका लागि निलम्बन गरेको छ।

एतिहाद एयरवेजले अबुधाबी–तेलअवीब उडानहरू आइतबारसम्मका लागि रद्द गरेको छ भने कतार एयरवेजले इरान, इराक र सिरियातर्फका उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ।

यता जोर्डनको नागरिक उड्डयन प्राधिकरणले पनि सम्भावित सुरक्षा जोखिमका कारण आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। जर्मनी, फ्रान्सलगायतका युरोपेली विमान कम्पनीहरूले वैकल्पिक मार्ग अपनाउँदै इरानी र इजरायली आकाश क्षेत्र छलेका छन्, जसका कारण उडान समय, इन्धन लागत र टिकट मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

हवाई मार्गको दबाब र लागत
इरान, इराक, सिरिया र इजरायल माथिका हवाई क्षेत्रहरू बन्द हुँदा धेरैजसो विमानहरू साउदी अरेबिया, मिश्र र टर्की हुँदै सञ्चालित भइरहेका छन्।

यसले ती मार्गमा हवाई ट्राफिकको चाप बढाएको छ। फ्लाइटरडार २४ जस्ता ट्र्याकिङ साइटहरूमा यी क्षेत्रमा विमान नदेखिने खाली स्थानहरू स्पष्ट देखिन्छन्।

लन्डन–हङकङ उडान अब इजरायल र इरानको हवाई क्षेत्रबाट जाँदा करिब दुई घण्टा ढिलो हुने, जसले बोइङ ७७७ जस्ता विमानहरूमा प्रतिघण्टा करिब ७,००० अमेरिकी डलरको इन्धन खर्च थप्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन्। यस्तै स्टाफ समय, अतिरिक्त शुल्क, ढिलाइ र उडान रद्दको असर थपिएको उल्लेख गरेका छन् ।

उडान जोखिममा अमेरिकी कम्पनीहरू
अमेरिकाले इरानका आणविक साइटहरूमा आक्रमण गरेपछि अमेरिकी विमान कम्पनीहरूका लागि थप खतरा बढेको बताइएको छ।

हालै सिंगापुर एयरलाइन्सले सिंगापुर–दुबई उडानहरू रद्द गरेको र ब्रिटिश एयरवेजले दुबई तथा दोहा तर्फका उडानहरू स्थगित गरेको जानकारी दिएका छन्।

सुरक्षा मूल्यांकनपछि धेरै एयरलाइन्सहरूले इरान, इराक, सिरिया र इजरायल माथिका उडानहरूबाट पर सर्ने निर्णय गरेका छन्, जसले दक्षिण वा उत्तरबाट वैकल्पिक रुट प्रयोग गर्नुपरेको छ।

सेफ एयरस्पेसले बहरैन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र युएईमा पनि हवाई क्षेत्र जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन सल्लाह दिएको छ।

उद्धार उडान

इजरायलले शनिबारदेखि आफ्नो मुख्य विमानस्थल बेन गुरियन र हाइफा विमानस्थल सीमित अवधिका लागि खोल्दै उद्धार उडानहरू सञ्चालन गरेको छ।

एल अल, अर्किया, एयर हाइफा र इसरायरले आइतबार कम्तीमा १० वटा उद्धार उडान सञ्चालन गरेको जनाएका छन्।

हाल करिब ४० हजार इजरायली र अन्य नागरिक विदेशमा अड्किएका छन्, जबकि ४० हजारजति विदेशी पर्यटक इजरायल छोड्न चाहिरहेका छन्। उनीहरूमध्ये केही जोर्डन र मिश्र हुँदै वा डुङ्गाबाट साइप्रस हुँदै देश फिर्ता हुने प्रयासमा छन्।

यस्तै जापानले २१ जना नागरिकलाई इरानबाट अजरबैजानसम्म जमिनमार्ग हुँदै उद्धार गरेको छ। भने न्यूजिल्यान्डले पनि मध्यपूर्वमा आफ्ना नागरिकहरूलाई उद्धार गर्न सैन्य विमान तयारी अवस्थामा राखेको जनाएको छ।

भारत पनि प्रभावित, वैकल्पिक मार्गको प्रयोग

इरान–इजरायल द्वन्द्वले भारतको हवाई क्षेत्र पनि प्रभावित बनेको छ। एअर इन्डिया, विस्तारा र इन्डिगोले इरानी हवाई क्षेत्रबाट बच्न वैकल्पिक मार्ग अपनाएका छन्, जसले उडान समय १५ देखि ४५ मिनेटले बढाएको छ। यसले इन्धन लागत र सञ्चालन खर्च बढाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दिल्ली र मुम्बईबाट युरोप तथा मध्य एशियातर्फका उडानहरूलाई अब केन्द्रीय एशियाली मुलुकहरू र अरब प्रायद्वीपमार्ग हुँदै जानुपरेको छ। केरला राज्यबाट पश्चिम एसियातर्फ गरिने धेरै उडान रद्द भएका छन्।

यद्यपि, इरानले भारतीय नागरिकको उद्धारका लागि आफ्नो हवाई क्षेत्र खुला गरेको छ, जसअन्तर्गत ‘अपरेशन सिन्दु’मार्फत करिब १,००० भारतीय विद्यार्थीहरूलाई सुरक्षित भारत ल्याइएको भारत सरकारको दाबी छ।

नेपाललमा कस्तो असर पर्छ ?

इजरायल–इरण युद्धले नेपालका हवाई मार्गमा प्रत्यक्ष असर नगरे पनि उडान मार्गको लम्बाइ, मूल्य, ढिलाइ र ट्रान्जिट उडानहरूमा असर पर्ने विज्ञहरुको भनाइ छ ।

युद्धका कारण इरान, इराक, सिरिया र इजरायलको हवाई क्षेत्र बन्द हुँदा खाडी र युरोपबाट नेपाल आउने अन्तर्राष्ट्रिय उडानहरू वैकल्पिक मार्गबाट आउनुपर्ने भएकाले उडान दूरी र समय बढ्नेछ, जसले इन्धन लागतमा वृद्धि ल्याउँछ।

यसको प्रत्यक्ष प्रभाव रूपमा ट्रान्जिट उडान ढिला हुने, टिकट मूल्य महँगो हुने र प्रवासी नेपालीहरूलाई यात्रा गर्न थप चुनौती बढ्ने अवस्था सिर्जना भएको छ।

साथै, वैकल्पिक मार्गमा ट्राफिक चाप बढ्दा नेपाल जाने वा नेपालबाट जाने उडानहरूको समय तालिकामा गडबडी देखिन सक्छ, जसले पर्यटन क्षेत्रलाई समेत प्रभावित पार्न सक्छ।


प्रतिक्रिया दिनुहोस्