कहिले सन्तुलित बन्छ नेपालको वैदेशिक व्यापार ?

काठमाडौं । नेपालको वैदेशिक व्यापारको आकार वर्षेनि बढिरहेको छ । तर, व्यापार घाटा भने झनझन बढ्दो छ । आयातमा अत्यधिक निर्भरता र निर्यातको तुलनात्मक न्यूनताले गर्दा नेपालको व्यापार असन्तुलन कायमै देखिएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा कुल १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ बढीको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार यो गत आवको जेठ मसान्तसम्मको तुलनामा १८.८० प्रतिशत बढी हो ।
विभागका अनुसार आयात र निर्यात दुवै बढ्दो छ । समिक्षा अवधिमा आयात १३.१५ प्रतिशत वृद्धि भई १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ कायम भएको छ । यता, निर्यातमा भने उल्लेख्य सुधार देखिएको छ । समिक्षा अवधिमा नेपालको निर्यात ७७.७७ प्रतिशत वृद्धि भई २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ कायम भएको छ ।
निर्यात वृद्धिदर उच्च देखिए पनि कुल परिमाणमा आयातको छायाँमा परेको छ । आयातको तुलनामा निर्यात रकम न्युन हुँदा व्यापार घाटा भने उच्च छ । वैदेशिक व्यापार घाटा ६.३० प्रतिशत बढेको छ । ११ महिनामा यस्तो घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । ठुलो आकारमा आयात र न्युन रकम निर्यात हुँदा वैदेशिक आर्थिक साझेदारहरुसँग व्यापार घाटा व्यहोर्दै आएको छ । हाल विश्लका १६४ भन्दा बढी मुलुकसँग नेपालले व्यापार गर्दै आएको छ । तर, अधिकांश मुलुकसँग भने घाटा व्यहोरेको छ । विभागका अनुसार १२७ वटा बढी मुलुकसँग घाटा व्यहोरेको छ ।
नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ । समिक्षा अवधिमा भारतबाट कुल ९ खर्ब ७७ अर्ब १३ करोड ८० लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, २ खर्ब ८९ करोड ८१ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । आयात भन्दा निर्यात कम भएकाले भारतसँगको व्यापार घाटा ७ खर्ब ७६ अर्ब २३ करोड ९९ लाख रुपैयाँ कायम भएको छ ।
यता, चीनसँगको व्यापार घाटा पनि ३ खर्ब १२ अर्ब ९ करोड ३९ लाख रुपैयाँ छ । समिक्षा अवधिमा चीनबाट नेपालले ३ खर्ब १४ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, निर्यात भने २ अर्ब ४८ करोड १७ लाख रुपैयाँ मात्रै छ ।
यस्तै, अर्जेन्टिनासँगको व्यापार घाटा ८६ अर्ब ४० करोड ६९ लाख रुपैयाँ छ । सो मुलुकबाट नेपालले ८६ अर्ब ४१ करोड २ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने ३३ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ ।
यस्तै, युक्रेनसँगको व्यापारमा पनि २४ अर्ब, युनाईटेड अरब इमिरेट्स २२ अर्ब १९ करोड ६९ लाख, अष्ट्रेलियासँग १७ अर्ब २८ लाख, इन्डोनेसियासँग १३ अर्ब ५६ करोड ५७ लाख, थाइल्याण्डसँग १३ अर्ब २ रकोड ४५ लाख, मलेशियासँग १२ अर्ब ५१ करोड, ब्राजिलसँग १० अर्ब ५९ करोड ६३ लाख रुपैयाँ रहेको छ । यीसहित १२७ वटा मुलुकसँग नेपालको वैदेशिक व्यापार घाटा रहेको छ ।
वर्षेनि बढ्दो व्यापार घाटा निराकरणका लागि स्थानीय उत्पादनमा आधारित अर्थतन्त्र निर्माण अनिवार्य आवश्यक रहेको विज्ञहरु बताउँछन् । हाल दैनिक उपभोगदेखि विलासी सामग्रीसम्म अधिकांश वस्तु विदेशबाटै आउने गरेको छ । यसले स्वदेशी उद्योगलाई कमजोर पार्दै व्यापार घाटा गहिरो बनाएको उनीहरु बताउँछन् ।
निर्यात विस्तारका लागि कृषिमा आधुनिकीकरण, हस्तकलाको ब्रान्डिङ, नयाँ निर्यात गन्तव्य खोजी, युवा उद्यम प्रोत्साहन र भन्सार प्रक्रियाको सुधार जस्ता उपाय तत्काल अपनाउनुपर्ने उनीहरुको भनाई छ ।
स्थानीय उत्पादनमा आधारित निर्यात प्रवद्र्धन, विकल्पीय बजार खोजी र निर्माण उद्योगमा आत्मनिर्भरता जस्ता दीर्घकालीन रणनीति नअपनाएसम्म यस्तो घाटाको चक्र निरन्तर चलिरहने जानकारहरु बताउँछन् ।






नेपालको पक्षमा तीन दर्जन मुलुक, जसले दिलाए नाफा
अधिकांश मुलुकसँग व्यापार घाटा व्यहोरे पनि केही देश भने नेपालको पक्षमा देखिएका छन् । हाल डेढ सय बढी मुलुकसँगको व्यापार घाटामा देखिए पनि तीन दर्जन बढी देश भने नेपालको पक्षमा देखिएको हो । अधिकांश मुलुकसँग घाटा व्यहोरेको नेपालले ३७ वटा मुलुकसँग भने नाफामा देखिएको छ ।
द्धिपक्षीय व्यापारमा अफ्गानस्थानसँग सबैभन्दा धेरै नाफा छ । सो मुलुकसँगको व्यापारमा नेपालले ६९ करोड ९३ लाख बढी नाफा व्यहोरेको छ । विभागका अनुसार सो मुलुकबाट नेपालले ४ करोड २५ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, निर्यात भने ७४ करोड १८ लाख रुपैयाँ बढीको छ ।
यस्तै, डेनमार्कसँग पनि नेपाल २७ करोड ५७ लाख नाफामा छ । डेनमार्कबाट नेपालले ३५ करोड १५ लाख रुपैयाँ बरारको आयात गरेको छ । तर, निर्यात भने ६२ करोड ७२ लाख बढीको गरेको छ ।
यता, रसियन फेडेरेसनसँग ७ करोड २० लाख, रोमानियासँग ७ करोड ६ लाख, आइसल्याण्डसँग २ करोड १९ लाख, माल्दिभ्ससँग १ करोड २६ लाख, माल्टासँग १ करोड १८ लाख, क्रोसियासँग १ करोड १३ लाख रुपैयाँ नाफामा छ । यी बाहेक नामै नसुकेका मुलुकले नेपाललाई नाफा दिलाएका छन् ।
वैदेशिक व्यापारमा नेपाललाई नाफा दिलाउने मुलुकहरु
