गोल्छा समूहमा चमक : बजाज एसेम्बलिङदेखि बिक्रीसम्म, ९ महिनामै १७ अर्ब बढीको व्यापार « Arthapath.com
१५ असार २०८२, आईतबार

गोल्छा समूहमा चमक : बजाज एसेम्बलिङदेखि बिक्रीसम्म, ९ महिनामै १७ अर्ब बढीको व्यापार



काठमाडौं । गोल्छा समूहअन्तर्गतका दुई प्रमुख कम्पनीहरूको व्यापार उल्लेख्य बढेको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी र हुलास अटो क्राफ्ट प्रालिले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कूल १७ अर्ब ६८ करोड ७० लाख रुपैयाँको व्यापार गरेका हुन् ।

यसमा हंसराज हुलासचन्द एण्ड कम्पनीको हिस्सा ११ अर्ब २२ करोड ६० लाख रुपैयाँ रहेको छ भने हुलास अटो क्राफ्टको व्यापार ६ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुगेको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी, जसको स्थापना सन् १९५९ मा भएको हो, ले विगत केही वर्षमा पनि स्थिर व्यापारिक वृद्धि देखाउँदै आएको छ। कम्पनीले सन् २०२४ मा १० अर्ब ६७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो, भने सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा २१ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो। यस वर्षको नौ महिनामै अघिल्ला वर्षहरूभन्दा बढी व्यापार हुँदा कम्पनीको प्रदर्शन सशक्त रहेको देखिन्छ ।

कम्पनी बजाज ब्रान्डका दुई र तीन पांग्रे सवारी साधन र विभिन्न ब्रान्डका लुब्रिकेन्टहरूको नेपालमा आधिकारिक वितरकको रूपमा परिचित छ ।

देशभर ३०० भन्दा बढी शाखा सञ्चालनमा रहेको यस कम्पनीमा १९ जना लगानीकर्ता छन् । अध्यक्ष शेखर गोल्छाको स्वामित्व ५३.८ प्रतिशत रहेको छ भने बाँकी १८ जना लगानीकर्ताको संयुक्त स्वामित्व लगभग ४ प्रतिशत जति छ ।

कम्पनीले हाल ४ अर्ब ९३ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ ।

यस्तै, हुलास अटो क्राफ्टले पनि यो आर्थिक वर्षको नौ महिनामा अघिल्लो वर्षको तुलनामा राम्रो प्रगति गरेको देखिन्छ । गत वर्ष ५ अर्ब १३ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले अहिले ६ अर्ब ४६ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ ।
अघिल्ला वर्षहरूमा क्रमशः ५ अर्ब ६१ करोड ४० लाख (२०२३) र १० अर्ब ७४ करोड ६० लाख (२०२२) बराबरको व्यापार गरेको थियो ।

यो कम्पनीले सन् २०१८ देखि दुई पांग्रे र सन् २०१९ देखि तीन पांग्रे सवारी साधनको एसेम्बल प्रक्रिया नेपालमै सुरु गरेको हो । हंसराज हुलासचन्दको सहायक कम्पनीका रूपमा स्थापित हुलास अटो क्राफ्टको स्वामित्वमा शेखर गोल्छाको ८० प्रतिशत र आकाश गोल्छाको २० प्रतिशत हिस्सेदारी छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाको लागि २ अर्ब २१ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जा २९ करोड २० लाख र अल्पकालीन कर्जा १ अर्ब ९२ करोड २० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्