बर्खा लागेपछि निर्माण सामग्री सस्तो, कति घट्यो सिमेन्ट र डन्डीको मूल्य ?

काठमाडौं । अहिले सिमेन्ट तथा डन्डीको मूल्य सस्तिएको छ । पछिल्लो समय निर्माण कार्यमा आएको सुस्तता र उत्पादन लागतमा कमी आएपछि सिमेन्ट र डन्डीको मूल्यमा गिरावट आएको हो ।
उद्योगीहरुका अनुसार सिमेन्टको मूल्य प्रति बोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म घटाइएको छ । यता, डन्डीको मूल्य पनि प्रतिकिलो ५ रुपैयाँसम्म सस्तिएको छ ।
अहिले बजार माग नै घटेकाले मूल्य समायोजना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
हाल उद्योगहरूमा लोडसेडिङको अवस्था पनि पहिलेभन्दा धेरै कम भएकोले उत्पादन खर्च घटेको र त्यसको असर मूल्यमा देखिएको हो । बर्खा याममा निर्माणको गति सुस्त हुने सामान्य प्रवृत्तिका कारण मागमा आएको कमीले पनि मूल्य घटाउन सहयोग पु¥याएको उद्योगीहरु बताउँछन् । माग कमजोर हुँदा उद्योगहरूबीच प्रतिस्पर्धा बढ्ने भएकाले उपभोक्ता पक्षमा लाभ हुनेगरी मूल्य घटाउने गरेका छन् ।
उद्योगीहरूले अघिल्लो समयमा विद्युत अभावका कारण उत्पादन लागत बढेको भन्दै मूल्य बढाएका थिए । तर, अहिले स्थिति केही सहज बन्दै गएको छ, जसले मूल्य घटाउन वातावरण बनाएको हो ।
निर्माण व्यवसायीका अनुसार अहिले बजारमा ओपीसी सिमेन्टको मूल्य ६ सयदेखि ७ सय रुपैयाँको आसपासमा छ । अघिसम्म यस्तो सिमेन्टको भाउ प्रति बोरा ६७५ रुपैयाँदेखि ८ सय रुपैयाँ हाराहारीमा बिक्री भएको थियो । यता, डन्डीको मूल्य अघिल्लो महिनासम्म प्रतिकिलो ९६ रुपैयाँमा कारोबार भइरहेको थियो । तर, हाल घटेर ८२ देखि ८५ रुपैयाँमा झरेको छ ।
मौसम खुल्दै जाँदा फेरि निर्माण गतिविधि तीव्र हुने भएकाले सिमेन्ट र डन्डीको माग बढ्ने अनुमान गरिएको छ । यद्यपि, हालका लागि भने मूल्य कटौतीले निर्माण क्षेत्रमा केही सहजता ल्याएको छ ।