जनकपुर चुरोटसहित चार रुग्ण उद्योग बेच्न अर्थमन्त्रालयले अघि बढायो प्रक्रिया

काठमाडाैं । सरकारले बन्द अवस्थामा रहेका चार सरकारी उद्योग बिक्री गर्न प्रक्रिया सुरु गरेको छ।
अर्थ मन्त्रालयले जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, र नेपाल ओरियन्ट म्याग्नेसाइटको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो।
जनकपुर चुरोट कारखानाको मूल्याङ्कनका लागि आशय पत्र असार २३ गतेसम्म मागिएको छ भने बाँकी तीन उद्योगका लागि असार २७ गतेसम्म माग गरिएकाे छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले अघि बढाइएका चारलगायत गोरखकाली रबर उद्योग, हेटौंडा र उदयपुर सिमेन्ट उद्योगलगायतका सार्वजनिक प्रतिष्ठानको विद्यमान अवस्था र व्यावसायिक सम्भाव्यताको अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गरिने उल्लेख छ ।
बजेटमा आएको व्यवस्थाअनुसार मन्त्रालयले पहिलो चरणमा चार उद्योगको सम्पत्ति मूल्यांकन थालेको हो ।
अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलको संयोजकत्वमा एक समिति गठन गरि काम शुरू गरिसकेको छ ।
सात रुग्ण उद्योगमध्ये उदयपुर र हेटौंडा सिमेन्टमात्र सञ्चालनमा छन् भने बाँकी पाँच उद्योग बन्द छन्। मन्त्रालयले अध्ययनको संयोजनका लागि समिति गठन गरी प्रक्रिया अघि बढाएको छ।