‘सफ्रोन सीके होटल’ को लागत झन्डै ४ अर्ब, १०९ कोठे ‘हायत’ ब्राण्डको होटलमा क्यासिनो र स्पा पनि « Arthapath.com
२१ असार २०८२, शनिबार

‘सफ्रोन सीके होटल’ को लागत झन्डै ४ अर्ब, १०९ कोठे ‘हायत’ ब्राण्डको होटलमा क्यासिनो र स्पा पनि



काठमाडौं । बुटवलमा निर्माण भइरहेको पाँचतारे ‘सफ्रोन सीके होटल’ को निर्माण लागतमा बढेको छ । होटल निर्माणमा थप एक अर्ब रुपैयाँ लगात वृद्धि भएको हो ।

सुरुमा २ अर्ब ४० लाख रुपैयाँमा निर्माण हुने भनिएको होटल अब ३ अर्ब ९० लाख रुपैयाँको लगानीमा बन्नेछ । लागत वृद्धिको कारण होटलसँगै छुट्टै क्यासिनो भवन निर्माण गर्नु र त्यसका लागि थप जग्गा अधिग्रहण गर्नु रहेको कम्पनीले जनाएको छ ।

जग्गाको ल्यान्डस्केपिङ, सडक सुविधा र पानीको उचित निकासका लागि गरिएको खर्चले पनि कुल लागत बढाएको हो ।
कम्पनीले ५८ प्रतिशत बैंक कर्जा र ४२ प्रतिशत इक्वीटी लगानीको मोडेलमा परियोजना अघि बढाएको थियो । हालसम्म १ अर्ब ८५ करोड रुपैयाँ बैंकबाट कर्जा टाइडअप भइसकेको छ । यस्तै, १ अर्ब २४ करोड रुपैयाँ इक्वीटीबाट जुटाउने योजना कम्पनीले बनाएको छ ।

सन् २०१८ मा दर्ता भएर निर्माण सुरु गरिएको यो होटल हालसम्म ७८ प्रतिशत निर्माण प्रगति पार गरिसकेको छ । ५ हजार ७ सय ४६ स्क्वायरफिट क्षेत्रमा फैलिने यस प्रोजेक्टमा १०९ वटा कोठा रहने छन् । होटलमा उच्च स्तरीय रेष्टुरेन्ट, स्वीमिङ पुल, स्पा, कन्फरेन्स तथा बैंक्वेट हलसहितको सुविधा रहनेछ ।

सफ्रोन सीके होटलको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हायत इन्टरनेशनल साउथ वेस्ट एसियासँग सम्झौता गरिएको छ । यस समूहले हायत होटल कर्पोरेशनसँग सहकार्य गर्दै ‘हायत रेन्सी’ ब्राण्ड अन्तर्गत सेवा सञ्चालन गर्नेछ । हायतको विश्वभर ६ महादेश र ७६ देशमा फैलिएका १ हजार ३०० भन्दा बढी होटल तथा रिसोर्ट छन्, जुन २० वटा प्रिमियम ब्राण्डमार्फत सञ्चालनमा छन् ।

हालसम्म कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब ९० करोड रुपैयाँको रेटिङ गराइसकेको छ, जसमा १ अर्ब ८५ करोड दीर्घकालीन र ५ करोड अल्पकालीन कर्जा रहेको छ।

कम्पनीका अध्यक्ष चुन्नाप्रसाद शर्मा यसअघि यशोदा फुड्स प्रालिका पनि अध्यक्ष भइसकेका अनुभवी व्यवसायी हुन् । उनको नेतृत्वमा बुटवलको पर्यटन र सेवा क्षेत्रमा यो प्रोजेक्टले उच्चस्तरीय अतिथि सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्