३० करोड लगानीमा ‘अतुल्य स्टिल’ स्थापना, जीआई तार र ग्याबियन बक्स उत्पादन हुने

काठमाडौं । नवलपरासीको हरियाली र व्यस्त राजमार्ग नजिकै रहेको दुम्किबासमा नयाँ औद्योगिक यात्रा सुरु हुन लागेको छ ।
पूर्वाधार विकासलाई गति दिन र निर्माण सामग्रीको आत्मनिर्भरता सुनिश्चित गर्ने लक्ष्यसहित ‘अतुल्य स्टिल उद्योग’ स्थापना हुने भएको हो ।
करिब ३० करोड १६ लाख रुपैयाँको लगानीमा बन्ने यो उद्योगले जस्तापातको जीआई तार र ग्याबियन बक्स उत्पादन गर्नेछ ।
कम्पनीले दैनिक १०० मेट्रिक टन ग्याबियन बक्स र ६६ मेट्रिक टन जीआई तार उत्पादन गर्ने तयारी गरेको छ । कुल १६६ मेट्रिक टन दैनिक उत्पादन क्षमतासहित यो उद्योग स्टिल क्षेत्रको सम्भावनाशील परियोजनाका रूपमा अघि बढेको हो ।
नेपालमा हाल पनि निर्माण तथा नदी नियन्त्रणका प्रोजेक्टहरूमा व्यापक मात्रामा जीआई तार र ग्याबियन बक्सको प्रयोग हुने गरेको छ । ती सामग्रीहरू प्रायः भारतबाट आयात हुने भएकाले अतुल्य स्टिलले घरेलु उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने र निर्माण लागत घटाउने ठोस सम्भावना बोकेको छ । साथै, उद्योगले दर्जनौं प्रत्यक्ष र सयौं अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
अतुल्य स्टिल उद्योगको लगानी संरचना मिश्रित रहेको छ । कुल ३० करोड १६ लाख रुपैयाँको परियोजनामा १९ करोड ६० लाख रुपैयाँ बैंक कर्जाबाट जुटाइनेछ भने बाँकी १० करोड ६० लाख रुपैयाँ इक्वीटीमार्फत लगानी गरिनेछ ।
कम्पनीका अनुसार हालसम्म जग्गा अधिग्रहण भइसकेको छ र निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ ।
उद्योगका लागि आवश्यक मुख्य कच्चा पदार्थ ‘वायर रड’ भारतबाट आयात गरिने कम्पनीले जनाएको छ । कच्चा पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न कम्पनीले आपूर्तिकर्तासँग आवश्यक सम्झौता प्रक्रिया अघि बढाएको छ ।
कम्पनीको अध्यक्षतामा अभय शर्मा रहेका छन् । उनको नेतृत्वमा कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराइसकेको छ, जसले परियोजनामा बैंकको विश्वास र दीगो वित्तीय योजना संकेत गर्छ ।