२० वर्षदेखि उठाइएका औद्योगिक एजेन्डा अझै कार्यान्वयन नहुनु दुखद: मन्त्री भण्डारी
काठमाडौं । नेपालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान घट्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् ।
कुनै समय जिडिपिमा १५ प्रतिशतसम्म रहेको औद्योगिक योगदान आज घटेर मात्र ५ प्रतिशतमा सीमित भएको उनको भनाइ छ।
मन्त्री भण्डारीले उद्योग क्षेत्रको योगदान घट्नुको मुख्य कारण नीतिगत कमजोरी, सरकारी प्राथमिकताको अभाव र व्यवसायी तथा सरकारबीच प्रभावकारी समन्वय नहुनु रहेको बताए।
उनले विगत २० वर्षदेखि उठाउँदै आएका नीति सुधार र औद्योगिक समृद्धिका एजेन्डाहरू अझै कार्यान्वयन नहुनु दुःखद रहेको उल्लेख गरे।
उनले भने, “नेपालको पुँजी बजारमा उद्योग क्षेत्रको उल्लेख्य उपस्थिति भए पनि समग्र अर्थतन्त्रमा योगदान न्यून छ। उद्योगलाई राष्ट्रको साझा मुद्दाको रूपमा नलिएर जबसम्म सबै पक्ष मिलेर अघि बढ्दैन, तबसम्म आर्थिक समृद्धि सम्भव हुँदैन।”
मन्त्री भण्डारीले अहिलेको नीतिगत तथा कानूनी ढाँचाले उद्योग क्षेत्रलाई पर्याप्त प्रोत्साहन नदिएको बताए।
उनका अनुसार हालको बजेटमा उद्योग मन्त्रालयको हिस्सा कुल बजेटको ०.५ प्रतिशत मात्र छ, जुन पर्याप्त होइन। विश्व बजारमा नेपाल प्रतिस्पर्धा गर्न नसक्नु र उद्योगले नवप्रवर्तन तथा प्रविधिको प्रयोग गर्न नसक्नु प्रमुख चुनौती बनेको उनको भनाइ छ।
उद्योग क्षेत्रमा आशा र उत्साह आवश्यक रहेको बताउँदै मन्त्री भण्डारीले युवा व्यवसायी, उद्यमी तथा नीति निर्माता सबैले यो क्षेत्रलाई समृद्धिको मेरुदण्ड बनाउन एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
















