भौतिक सम्पत्तिको लगानी खुम्चिँदा सफ्टवेयर र एआईमा लगानी तीन गुणा बढ्यो, यसरी परिवर्तन हुँदैछ अर्थतन्त्रको स्वरूप - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भौतिक सम्पत्तिको लगानी खुम्चिँदा सफ्टवेयर र एआईमा लगानी तीन गुणा बढ्यो, यसरी परिवर्तन हुँदैछ अर्थतन्त्रको स्वरूप



काठमाडाैं। भौतिक सम्पत्तिमा भएको लगानीलाई सफ्टवेयर, तथ्याङ्क र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता वस्तुमा भएको लगानीले उिछनेको छ ।

उच्च ब्याज दर र कमजोर आर्थिक पुनरुत्थानका कारण प्रभावित भएका मेसिनरी र भवनजस्ता भौतिक वस्तुमा गरिएको लगानीको तुलनामा सन् २०२४ मा बौद्धिक सम्पत्तिमा आधारित सम्पत्तिमा लगानी तीन गुणाले बढेकाे संयुक्त राष्ट्रसङ्घको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्यूआइपीओ) काे प्रतिवेदनमा उल्लेख छ ।

२७ वटा उच्च तथा मध्यम आय भएका देशहरूमा अमूर्त सम्पत्तिमा लगानी २०२४ मा वास्तविक रूपमा लगभग ३ प्रतिशतले वृद्धि भई ७.६ ट्रिलियन अमेरिकी डलर पुगेको प्रतिवेदनले देखाएको छ।

परिवर्तन हुँदै अर्थतन्त्रको स्वरूप

डब्ल्यूआइपीओका प्रमुख डेरेन टाङले अहिले अर्थतन्त्र कसरी बढ्छ भन्ने कुरामा मौलिक रूपान्तरण देखिएकाे बताए । ‘अनिश्चित अवस्थाहरूमा व्यवसायहरूले कारखाना र उपकरणहरूमा लगानी घटाएका छन्, तर अमूर्त सम्पत्तिमा दोब्बर लगानी गरिरहेका छन्’ उनले भने ।

यसले अमूर्त सम्पत्तिको महत्व बढ्दै गएको छ र यसले नीति निर्माणमा गहिरो असर पारिरहेको संकेत गरेकाे उनकाे भनाइ छ ।

टाङका अनुसार, जसले अमूर्त सम्पत्तिलाई राम्रोसँग बुझेर वित्तपोषण गर्न सक्छ, त्यस्ता मुलुकहरू प्राविधिक, डिजिटल र सांस्कृतिक नवीनताबाट सञ्चालित विश्व अर्थतन्त्रमा उत्कृष्ट स्थानमा रहनेछन्।

अमेरिका सबै भन्दा अगाडी

सन् २०२४ मा संयुक्त राज्य अमेरिकाले अमूर्त सम्पत्तिमा सबैभन्दा बढी लगानी गरेको देखिएको छ, जुन फ्रान्स, जर्मनी, जापान र बेलायतको संयुक्त लगानीभन्दा झन्डै दोब्बर हो।

स्वीडेन भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १६ प्रतिशत अमूर्त सम्पत्तिमा लगानी गरी विश्वकै सबैभन्दा अमूर्त-सम्पत्ति-गहन अर्थतन्त्र बनेको छ। त्यसपछिका स्थानमा अमेरिका, फ्रान्स र फिनल्यान्ड छन्, जसले जीडीपीको १५ प्रतिशत हिस्सा अमूर्त लगानीमा खर्च गरेका छन्।

भारतको हकमा, अमूर्त लगानीको तीव्रता लगभग १० प्रतिशत रहेको डब्ल्यूआइपीओले जनाएको छ, जुन यूरोपेली संघ र जापानसहितका धेरै देशहरूभन्दा अगाडि हो।

लगातार वृद्धि र एआईको प्रभाव

२००८ देखि २०२४ सम्म अमूर्त सम्पत्तिमा लगानी स्थिर रूपमा बढ्दै आएको र आर्थिक संकटका बेलामा पनि लचिलो रहेको प्रतिवेदनले देखाएको छ। त्यही अवधिमा भौतिक सम्पत्तिमा लगानीको वार्षिक वृद्धि दर एक प्रतिशतभन्दा कम मात्र रह्यो।

सन् २०१३ देखि २०२२ सम्म सफ्टवेयर र डाटाबेसमा लगानी वार्षिक ७ प्रतिशतभन्दा बढीले बढेको देखिएको छ, जुन अमूर्त सम्पत्तिको सबैभन्दा तीव्र वृद्धि हो। यसलाई आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँग सम्बन्धित मानिएको छ।

रिपोर्टअनुसार, एआईले चिप्स, सर्भर र डाटा सेन्टरजस्ता भौतिक पूर्वाधारमा लगानी बढाउँदै आएको छ, र त्यससँगै एआई प्रशिक्षणका लागि आवश्यक डाटासेट र अन्य अमूर्त सामग्रीहरूमा पनि लगानी तीव्र भएको छ।

डब्ल्यूआइपीओका अर्थशास्त्र तथा तथ्याङ्क विश्लेषण विभागका प्रमुख साचा वुन्श–भिन्सेन्टका अनुसार, “धेरैले सोच्छन् कि हामी एआईको विकासको बीचमा छौं, तर वास्तवमा यो सुरुवात मात्र हो।”


प्रतिक्रिया दिनुहोस्