अमेरिकी अदालतद्वारा ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा रोक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अमेरिकी अदालतद्वारा ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा रोक



काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी जन्मसिद्ध नागरिकता खारेज गर्ने कार्यकारी आदेशमा संघीय अदालतले रोक लगाएको छ।

न्यु ह्याम्पशायर डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोसेफ लाप्लान्तेले बिहीबार उक्त आदेशको कार्यान्वयन तत्काल रोक्न निर्देशन दिएकाे बीबीसीले उल्लेख गरेकाे छ।

न्यायाधीश लाप्लान्तेले जारी गरेको आदेशमा भनिएको छ, ‘नागरिकता कुनै पनि व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण संवैधानिक अधिकार हो, जुन कसैबाट खोसिनु हुँदैन।’

अदालतले यो विषयमा क्लास एक्सन स्टेटस अर्थात् सामूहिक मुद्दाको रूपमा स्वीकार गर्दै ट्रम्पको आदेशबाट प्रभावित हुने सबै बच्चाहरूलाई कानुनी संरक्षण दिने निर्णय गरेको हो।

यदि ट्रम्पको कार्यकारी आदेश लागू भएको भए, अमेरिकामा जन्मिने हजारौं बच्चा जन्मसिद्ध नागरिकताको अधिकारबाट वञ्चित हुने खतरा रहेको अदालतको ठहर छ।

विशेषतः अवैध आप्रवासी आमाबाट जन्मिएका, अस्थायी बसोबासको स्थिति भएका वा पिताको कानुनी हैसियत अमेरिकामा नपुगेका अवस्थामा बच्चाले नागरिकता नपाउने व्यवस्था ट्रम्पको आदेशमा गरिएको थियो।

ट्रम्पले २० जनवरी २०२५ मा हस्ताक्षर गरेको उक्त आदेश ‘प्रोटेक्टिङ द मिनिङ एण्ड भ्यालु अफ अमेरिकन सिटिजनसीप’ शीर्षकमा सार्वजनिक गरिएको थियो, जसमा नागरिकता प्रदान गर्ने सर्तहरू कडा बनाउने प्रस्ताव गरिएको थियो।

तर अमेरिकी संविधानको १४औँ संशोधनले जन्मसिद्ध नागरिकता सुनिश्चित गरेको प्रावधानको आधारमा यो आदेश संविधानविपरीत रहेको ठहर गर्दै अदालतले अस्थायी रोक लगाएको हो।

साथै, ट्रम्प प्रशासनलाई ७ दिनभित्र अपिल गर्न समय दिइएको छ भने निर्णयको लिखित प्रतिलिपि चाँडै सार्वजनिक गरिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्