हिमालयन बैंकको सेयर ‘ट्रान्सफर’ हुन कम्तिमा दुई महिना लाग्ने, अख्तियारले थाल्यो ‘सोधिखोजी’ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन बैंकको सेयर ‘ट्रान्सफर’ हुन कम्तिमा दुई महिना लाग्ने, अख्तियारले थाल्यो ‘सोधिखोजी’



काठमाडौँ । पाकिस्तानी साझेदार हबिब बैंकको स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर कारोबार टुंगिन अझै कम्तिमा दुई महिना लाग्ने सम्बन्धित अधिकारीहरुले बताएका छन् ।

हबिबको स्वामित्वमा रहेको सेयर नेशनल लाइफ इन्स्योरेन्सले किन्ने पक्कापक्की भएपनि यो प्रक्रिया टुंगोमा पुर्याउन भने अझै दुई महिना लाग्ने देखिएको हो ।

हिमालयन बैंकले विहीवारसम्म प्राप्त निवेदनहरुको सम्पूर्ण विवरण शुक्रबार नै हबिबलाई पठाइसकेको छ । पाकिस्तानमा आइवार सार्वजनिक विदा हुने भएकाले सोमवार यसबारे थप छलफल हुनसक्ने ठानिएको छ ।

हबिबले यस विक्री प्रक्रियामा कुनै एक निवेदन स्वीकार गरेर गर्यो भने त्यसपछि स्वामित्व हस्तान्तरणको प्रक्रिया थाल्नुपर्छ । यसका लागि हबिबले हिमालयन बैंकको सञ्चालक समितिमार्फत् नेपाल राष्ट्र बैंकमा सेयर स्वामित्व हस्तान्तरण गर्ने अनुमति मागेर निवेदन दिनुपर्छ ।

केन्द्रिय बैंकले यससम्बन्धी सबै अनुमति दिएपछि नेपाल बीमा प्राधिकरणको समेत अनुमतिमा नेशनललाइफले सेयर प्राप्त गर्न सक्छ ।

यस्ता सबै प्रक्रिया र नियनमकीय अनुमतिहरु लिएर स्वामित्व हस्तान्तरणको प्रक्रिया टुंग्याउन अझै दुई महिना जति लाग्ने जानकार कानून व्यवसायीहरु बताउँछन् ।

नेपालमा हबिबको कानूनी परामर्श दाताको रुपमा पायोनियर ल एसोसियटले काम गरिरहेको छ । उक्त कम्पनीका प्रबन्धक अनुपराज उप्रेतीले संस्थापक समूहबाट आएका निवेदनहरुमध्ये नेशनल लाइफको मात्रै ‘योग्य’ रहेको भनेर अनौपचारिक जानकारी गराइसकेका छन् ।

हबिबले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर अर्थात् २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर ‘एकमूष्ठ’ विक्री गर्नका लागि प्रस्ताव मागेको थियो ।

उक्त सेयरमा केही संस्था र व्यक्तिले पनि लगानी गर्ने भनेर निवेदन दिएका थिए, तर एकमूष्ठ सम्पूर्ण स्वामित्व खरीद गर्ने प्रस्ताव नेशनल लाइफले मात्रै गरेको स्रोतको दाबी छ ।

दोस्रो चरणको लिलामी

हिमालयन बैंकले पहिलो चरणमा मर्जर अघि हिमालयन बैंकमा रहेका संस्थापकहरुका लागि मात्रै भनेर सेयर विक्रीका लागि राखेको थियो ।

हिमालयन *रिइन्स्योरेन्ससँग भएको हबिबको समझदारीका आधारमा सबै सेयर ‘एकमूष्ठ’ विक्री गर्ने र हिमालयन बैंकका पुराना संस्थापकहरुले मात्रै किन्न पाउने गरी उक्त सूचना निकालिएको थियो ।

त्यसबेला बैंकका कुनै पनि पुराना प्रवर्द्धकहरु उक्त सेयर किन्न तत्पर भएनन् । तर नेपाल राष्ट्र बैंकले उक्त सेयर सर्वसाधारणका लागि विक्री खुला गर्न दिएन ।

‘सिभिल बैंकसँग मर्जर भइसकेपछि हिमालयन बैंकका पुराना सेयरधनीमात्रै होइन, सिभिलबाट आएका संस्थापकहरुको पनि अनुमति लिनुपर्छ भनेर राष्ट्र बैंकले रोक्यो’, स्रोतले भन्यो, ‘त्यसपछि हिमालयन र सिभिल दुबैतिरका संस्थापकको लागि भनेर पुनः सूचना जारी गरियो ।’

यो सूचनाबारे खासै हल्लाखल्ला पनि भएको थिएन । हबिबले हिमालयन रिइन्स्योरेन्ससँग भएको समझदारीकै आधारमा ११२ रुपैयाँ ८० पैसाका दरले सेयर बेच्ने सूचना निकालेको थियो ।

तर अन्तिम समयमा नेशनल लाइफले यो सेयर किन्ने प्रस्ताव अघि बढायो ।

गत बुधबार अर्थात् असार ३२ मा नेप्सेमा हिमालयनको सेयर मूल्य २३७ रुपैयाँ ३० पैसामा बन्द भएको थियो । यसैलाई आधार मानेर नेशनल लाइफले विहीबार अर्थात् अन्तिम दिन ११८ रुपैयाँ ८८ पैसामा ‘बिड’ गर्यो ।

ऊ एउटामात्रै त्यस्तो कम्पनी हो, जसले हबिबको प्रस्ताव स्वीकार गर्दै उसको पुरै सेयर किन्ने प्रस्ताव गरेको छ । करीब ३ अर्ब ३३ करोड मूल्यमा उक्त सेयर किन्ने नेशनल लाइफको प्रस्तावपछि अब यो बीमा कम्पनी हिमालयन बैंकको सबैभन्दा ठूलो एकल स्वामित्व हुने कम्पनी बन्न लागेको छ ।

६ वर्षपछि साकार हुँदै योजना

हबिबले नेपालबाट आफ्नो लगानी फिर्ता लिन चाहेको करीव ६ वर्ष भयो । कोभीड सुरु भएसँगै उसले हिमालयन बैंकको सेयर बेच्ने प्रक्रिया थालेको थियो ।

त्यसबेला आंशिक स्वामित्व किन्न हिमालयनका प्रवर्द्धकहरु तयार भए पनि सबै स्वामित्व किन्न कोही पनि तम्सिएनन् । कर्मचारी सञ्चय कोषले उक्त सेयर किन्न खोजेको भए पनि उसँग सीमाभन्दा बढी स्वामित्व जम्मा हुने भएपछि कारोबार हुन सकेन ।

यसपछि बारम्बार बेच्ने प्रयास गर्दा पनि हबिब सफल हुन सकेको थिएन । उसले चाहेको बेलामा सेयर बेच्न पाएको भए अहिलेभन्दा दोब्बर मूल्य पाउने थियो । तर समय घर्किएसँगै नेपालमा बैंकिङ क्षेत्र समस्यामा पर्यो ।

मर्जरपछि त झनै हिमालयनमा नयाँ झमेलाहरु थपिए । यसले बैंकलाई अप्ठेरो अवस्थामा पुर्याएको थियो । त्यसैले कम्पनीको सेयर मूल्यमा पनि गिरावट आयो ।

तर यस कारोबारले हिमालयन बैंकमा एउटा ‘व्यावसायिक संस्था’ नयाँ ‘मालिक’ बनेर आउने भएको छ ।

राजा त्रिभुवनका भानिज सिद्धेश्वर कुमार (एसके) सिंहको अगुवाईमा खुलेको यो संस्थामा पुराना ‘राज–घराना’का निकटवर्तीहरुको स्वामित्व छ । बेलायती प्रणालीलाई बढी अनुशरण गर्ने यी व्यवसायीहरु तुलनात्मक रुपमा ज्यादा ‘इमानदार’ रहेको ठान्नेहरु धेरै छन् ।

केन्द्रिय बैंकको संस्थापक गभर्नर हिमालयशम्शेर राणाले खोलेको बैंकमा यस प्रकारको ‘सक्षम संस्था’ प्रवर्द्धक बनेर भित्रिनुलाई धेरैले ‘सकारात्मक’ बताएका छन् ।

अख्तियारको चासो

यद्यपि, उक्त सेयर किनबेचको प्रक्रिया थालिएको प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत केही राज्यका अनुसन्धान एजेन्सीहरुले पनि ‘चासो’ देखाएका छन् ।

अख्तियार सम्बद्ध सूत्रका अनुसार केही सञ्चार माध्यममा उक्त सेयर कारोबार हुँदा करोडौँ रुपैयाँ राजस्व छलि हुनसक्ने भन्दै खबरहरु आएपछि चासो देखाइएको हो ।

नयाँ पत्रिका लगायत केही सञ्चार संस्थाले ‘नेटवर्थ’भन्दा निकै कम मूल्यमा सेयर कारोबार हुन लागेकाले पूँजीगत लाभकर छलि हुनसक्ने भनेर खबर छापेका थिए । यद्यपि, नेटवर्थको बराबर पैसा तिर्नुपर्छ भन्ने कुनै कानूनी आधार छैन ।

कारोबारीहरुले पनि नेटवर्थलाई मूल्य निर्धारणको एक प्रमुख आधार त मान्छन्, तर त्यही नै ‘वैधानिक मूल्य’ हुन सक्दैन ।

तथापि, एजेन्सीहरुले चासो राखेर यसबारे अनुसन्धान गरिरहेको अख्तियार सम्बद्ध स्रोतको दाबी छ ।

*हिमालयन रिइन्स्योरेन्स हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । —सं.


प्रतिक्रिया दिनुहोस्