वीरगञ्ज नाकाबाट मात्रै १ खर्ब भन्दा बढीकाे वस्तु निर्यात - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वीरगञ्ज नाकाबाट मात्रै १ खर्ब भन्दा बढीकाे वस्तु निर्यात



काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा वीरगञ्ज नाकाबाट मात्रै १ खर्ब १ अर्ब मूल्य बराबरका वस्तु निर्यात भएकाे छ ।

अघिल्लो आवमा यो नाका हुँदै रु ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा सामान निर्यात गरिएकोमा गत आवमा बढेर एक खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएकाे छ ।

वीरगञ्ज नाका हुँदै एक वर्षमा २२७.०९ प्रतिशत अर्थात् रु ७० अर्ब ७० करोड मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको हाे ।

गत आवमा सबैभन्दा धेरै रु ६१ अर्ब ४५ करोड मूल्य पर्ने २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको छ भने रु नौ अर्ब २६ करोड मूल्य पर्ने चार करोड १५ लाख नौ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ ।

त्यसैगरी सात अर्ब ६९ करोड मूल्य पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ भने रु पाँच अर्ब ३७ करोड मूल्य पर्ने चार करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ ।

यता यस नाका हुँदै गत आर्थिक वर्ष २०८१/८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । अघिल्लो आव २०८०र८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो ।

गत आवमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु एक खर्ब ९१ अर्ब ८८ करोड रकमको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल रु ५७ अर्ब ६८ करोडको रहेको छ ।

यस्तै मेसिनरी तथा तिनका पार्टपुर्जा रु ३६ अर्ब ६३ करोड मूल्यका आयात गरिएका छन् । रु ३४ अर्ब ४१ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका हुन् । सोही अवधिमा रु २८ अर्ब ५३ करोड मूल्य पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन् ।


प्रतिक्रिया दिनुहोस्