देशैभर विमानस्थल निर्माण र सुधारका लागि छुट्याइयो ५० करोड बजेट, सिमिकोटलाई मात्रै ७ करोड १४ लाख, अन्यले कति पाए ?
काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले देशभरका विभिन्न विमानस्थलका पूर्वाधार विकास तथा सुधारका लागि ४९ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
बुधबार सार्वजनिक गरिएको बजेट विवरण अनुसार, नयाँ टर्मिनल भवन, टावर निर्माण, धावनमार्ग सुधार, जग्गा अधिग्रहण र विभिन्न योजनाको अध्ययन तथा आयोजना प्रस्ताव तयार गर्ने कार्यका लागि यो रकम छुट्याइएको हो।
प्राधिकरणले महेन्द्रनगर विमानस्थलमा नयाँ टर्मिनल भवन तथा टावर निर्माणका लागि १ करोड रुपैयाँ छुट्याएको छ। यस्तै, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक निर्माण कार्यका लागि पनि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
भोजपुर र दिपायल विमानस्थलमा नयाँ टर्मिनल तथा टावर भवन निर्माणका लागि जनही १ करोड रुपैयाँ छुट्याइएको छ भने रामेछाप विमानस्थलमा टर्मिनल टावर निर्माण कार्यका लागि ५० लाख रुपैयाँ छुटाइएको छ।
यसैगरी, सुर्खेत विमानस्थलमा ४ करोड रुपैयाँको लागतमा जग्गा प्राप्ति कार्य हुनेछ। चिप्लेढुंगास्थित डोटी विमानस्थलमा टर्मिनल टावर निर्माण कार्यका लागि १ करोड रुपैयाँ र भरतपुर विमानस्थलमा टर्मिनल सुधार तथा सुदृढीकरणका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।
प्राधिकरणले सिमिकोट विमानस्थलमा धावनमार्ग विस्तारका लागि आवश्यक पर्ने ७ करोड १४ लाख रुपैयाँसहितको बजेट विनियोजन गरेको छ। यसले हुम्ला जिल्लाको एकमात्र विमानस्थल सिमिकोटको पूर्वाधारमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, गुल्मी र अछामका विमानस्थल (रेसुङ्गा र साँफेबगर) मा पनि १र१ करोड रुपैयाँको बजेट छुट्याइएको छ। कञ्चनपुरको बेलौरीस्थित गड्डाचौकी विमानस्थल सुदृढीकरण आयोजनाका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ। यता, चट्याङ्को जोखिम न्यूनीकरणका लागि भैरहवा, विराटनगर, जनकपुर, नेपालगञ्ज र पोखराको विमानस्थलमा विद्युतीय सञ्जाल संरक्षणसम्बन्धी आयोजना प्रस्ताव तयार गर्न ३ करोड रुपैयाँ छुट्याइएको छ।
कपिलवस्तुको कमलाबजार र जाजरकोटका सुकुटे विमानस्थलमा टर्मिनल तथा टावर निर्माणका लागि क्रमशः २र२ करोड रुपैयाँ विनियोजन गरिएको छ। बाँकेको कोहलपुर विमानस्थल सुदृढीकरण आयोजना तथा महेन्द्रनगर विमानस्थलको सुदृढीकरण कार्यका लागि पनि ३र३ करोड रुपैयाँ छुट्याइएको छ।
अत्यावश्यक जग्गा प्राप्ति कार्यका लागि दार्चुलाको दार्चुला विमानस्थलमा ९ करोड रुपैयाँ विनियोजन गरिएको छ भने ताप्लेजुङको सुकिएटार विमानस्थलका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।
गोठगाउँ विमानस्थललाई काठमाण्डौको सहायक विमानस्थलको रूपमा विकास गर्न ९ करोड रुपैयाँ बजेट छुट्याइएको छ। यसले भविष्यमा त्रिभुवन विमानस्थलमा हुने चाप कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यसैगरी, रामेछाप विमानस्थलमा ट्राफिक टावर तथा पहिलो नियन्त्रण कार्यका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।
यो बजेट विनियोजनसँगै मुलुकभर रहेका क्षेत्रीय तथा सुदूरवर्ती विमानस्थलको संरचनात्मक विकास, पहुँच विस्तार र सेवा गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ। प्राधिकरणले योजनाहरूको समयमै कार्यान्वयन सुनिश्चित गरी दूरदराजका क्षेत्रका नागरिकलाई हवाई सेवा सहज बनाउने बताएको छ।
प्राधिकरणले बुधबार आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हाे ।
प्राधिकरणका अनुसार पूँजीगत खर्चतर्फ १२ अर्ब ३९ करोड ७० लाख, कार्य सञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख र वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ८५ करोड रुपैयाँ विनियोजन भएको छ ।
जसमध्ये सबै भन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि विभिन्न आयोजना सञ्चालन गर्न ४ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने पोखरा विमानस्थलका लागि करिब ५१ करोड र बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि २३ करोड ८० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।













