११ श्रावण २०८३, सोमबार

नाइमा एक्स्पोमा धमाका: कुन–कुन ब्रान्डले के ल्याउँदैछन् ?



काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले साउन २१ देखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ भव्य प्रदर्शन गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको उक्त प्रदर्शनीमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुने भएका छन् भने ३५ नयाँ सवारी मोडल पहिलोपटक सार्वजनिक हुँदैछन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै नाइमाले एक्स्पोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारीसाधन सर्वाजनिक हुने जानकारी दिएको हो ।

जसमा ट्रक, भ्यान, मिनीबस जस्ता मोडलहरु पनि समावेश हुनेछन् । त्यसमध्ये धेरैजसो मोडल विद्युतीय प्रविधिमा आधारित हुने बताइएको छ ।

नाइमाको आयोजना तथा मोटर कम्पनी डटकमको सहकार्यमा हुन लागेको यो एक्स्पो विद्युतीय सवारीप्रति बढ्दो आकर्षणको संकेतस्वरूप नयाँ प्रविधिसहितका अत्याधुनिक मोडलहरूको सार्वजनिक मञ्च बन्ने अपेक्षा गरिएको छ।

यस वर्षको एक्स्पोमा चीनको अग्रणी ब्रान्ड जाइकोले आफ्ना दुई नयाँ मोडलहरु जाइको जे ५ ईभी र जेइको जे ७ पहिलोपटक नेपाली बजारमा अनावरण गर्ने तयारी गरेको छ। विशेषगरी जे ५ ईभी मा ६०.९ किलोवाट आवरको ब्याट्री, १५५ किलोवाट (२०७ हर्सपावर) को मोटर र ४०० देखि ४७० किलोमिटरको दाबी गरिएको दूरी तय गर्ने क्षमता रहेको छ। जेइकोको यो मोडल नेपालमै पहिलोपटक सार्वजनिक हुँदैछ।

चिनियाँ कम्पनी बिवाइडीले पनि आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी ‘सिल लायन ७’ को पहिलोपटक सार्वजनिक प्रदर्शन यही एक्स्पोबाट गर्ने भएको छ। यो मोडल हालसालै नेपाल भित्रिएको भए पनि आधिकारिकरूपमा उपभोक्तासमक्ष प्रस्तुत हुने पहिलो अवसर यही एक्स्पो हुनेछ। साथै, चिनीया चेरी ब्रान्डको आइकार भी २३ र अन्य एसयुभी मोडलहरू पनि यही अवसरमा प्रस्तुत गरिनेछन्।

महिन्द्रा कम्पनीले आफ्नो नयाँ इभी एसयुभी लाइनअपका रूपमा बि‑६ र एक्सयुभी. ई ९ नामक विद्युतीय सवारीसाधनहरू सार्वजनिक गर्ने जानकारी दिएको छ। यी दुवै मोडल हालसालै भारतमा प्रोटोटाइप चरणमा रहेका कारण नेपालमा प्रत्यक्ष अवलोकन गर्ने मौका यो पहिलोपटक हुनेछ।

साथै, कियाले पनि आफ्नो नयाँ इलेक्ट्रिक मोडल ईभी‑५ भन्सार प्रक्रिया पूरा गरी यसै एक्स्पोमार्फत पहिलोपटक सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

यसैगरी, मलेशियन ब्रान्ड प्रोटोनले आफ्ना नयाँ विद्युतीय मोडल ईमास ७ को प्राइम र प्रिमियम भेरियन्टहरू पहिलोपटक नेपाली बजारमा सार्वजनिक गर्नेछ। प्रोटोन ईमास ७ मा पाँचवटा विभिन्न रंग विकल्पसहित स्मार्ट सुविधाहरू उपलब्ध हुने बताइएको छ, जसले प्रोटोन ब्रान्डलाई नेपाली ईभी बजारमा नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ।

लन्च/प्रदर्शन हुन सक्ने दुई पाङ्ग्रे सवारी साधनहरू

एक्सपोमा दुईपांग्रे सवारी साधन (२–ह्वीलर) को पनि भव्य प्रदर्शन हुँदैछ। विद्युतीय तथा पेट्रोल इन्जिनमा आधारित स्कूटर र बाइकहरू प्रस्तुत गरिने यो एक्स्पोमा २० भन्दा बढी ब्रान्डले आफ्ना मोडलहरू सार्वजनिक गर्ने तयारी गरेका छन्। यीमध्ये धेरै ब्रान्डका मोडलहरू पहिलोपटक नेपालमा सार्वजनिक हुन लागेका छन्।

यस वर्षको एक्स्पोमा एम्पेयर, एथर इनर्जी, बजाज, होन्डा, केटीएम, रोयल एनफिल्ड, सुजुकी, टिभीएस, ट्रायम्फ, बेनेल्ली, सिएफमोटो, गोगोरो, महिन्द्रा टू ह्वीलर्स, एनआईयु, रिभोल्ट मोटर्स, सेगवे नाइनबट, अल्ट्राभायोलेट र याडेया लगायत दर्जनौँ ब्रान्डका स्कूटर तथा मोटरसाइकलहरू देख्न पाइनेछन्।

विद्युतीय २–ह्वीलर सवारीप्रति बढ्दो आकर्षणका कारण धेरै ब्रान्डहरू यसपटक ईभी सेग्मेन्टमा केन्द्रित हुनेछन्। एनआईयू, गोगोरो, रिभोल्ट, सेगवे नाइनबट, अल्ट्राभायोलेट र याडेया लगायत कम्पनीहरूले आफ्ना विद्युतीय स्कूटर तथा मोटरसाइकलहरू नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेका छन्। यीमध्ये कतिपय मोडलहरू नेपालमा पहिलोपटक ल्याइँदै छन्, जसले बजारमा प्रतिस्पर्धा थप चर्काउने अनुमान गरिएको छ।

त्यसैगरी, एथर इनर्जी, जुन भारतमा प्रिमियम इलेक्ट्रिक स्कूटर बनाउने प्रमुख कम्पनीका रूपमा परिचित छ, नेपाल प्रवेश गर्ने तयारीमा छ र यसै एक्स्पोमार्फत आफ्ना मोडलहरू सार्वजनिक गर्ने सम्भावना उच्च रहेको छ। एम्पेयरको बजेट र मिड–रेन्ज इभी मोडलहरू पनि यसै अवसरमा देखिनेछन्।

पेट्रोल इन्जिन सवारीमा होण्डा, सुजुकी, बजाज, टिभिएस, केटिएम, रोयल इन्फिल्ड, बेनेल्ली, ट्रायम्फ र सिएफ मोटो जस्ता पुराना र चर्चित ब्रान्डहरूका ताजा संस्करणहरू पनि प्रदर्शनमा राखिनेछन्। नयाँ डिजाइन, अपग्रेडेड इन्जिन र विशेष एड्भेन्चर फिचरका साथ आउने यी मोडलहरू मोटरसाइकलप्रेमीहरूका लागि आकर्षणको केन्द्र बन्नेछन्।

यो एक्स्पोमा केही ब्रान्डहरूले आफ्नो अफ–रोड एड्भेन्चर बाइकदेखि लिएर स्मार्ट कनिक्टेड स्कूटरहरू समेत प्रदर्शनमा राख्ने तयारी गरेका छन्। ट्रायम्फ जस्ता ब्रान्डका क्लासिक र प्रीमियम मोटरसाइकलहरू पनि नेपालमै प्रत्यक्ष हेर्ने र अनुभव गर्ने दुर्लभ अवसर यसै प्रदर्शनीले दिनेछ।

नाइमा मोबिलिटी एक्स्पो–२०२५ मा दुईपांग्रे सवारी साधनको क्षेत्रलाई विशेष प्राथमिकता दिइएको देखिन्छ। पर्यावरणमैत्री प्रविधिमा आधारित स्कूटर तथा मोटरसाइकलहरू, स्मार्ट फीचरहरू जस्तै मोबाइल एप कन्ट्रोल, नेविगेसन, रिमोट ट्र्याकिङ, फास्ट चार्जिङ आदि फिचरका साथ आएका मोडलहरू यस वर्षका प्रमुख आकर्षण हुनेछन्।

अर्कोतर्फ, महिन्द्राको २–ह्वीलर डिभिजन पनि यस प्रदर्शनीमा उपस्थित हुने जनाएको छ, जसले केही समयदेखि बजारमा उपस्थिति कमजोर बनाउँदै आएको थियो। अब नयाँ प्रविधिसहित पुनः फर्कने प्रयासस्वरूप महिन्द्राले विद्युतीय स्कूटरहरू प्रदर्शन गर्ने अनुमान छ।

साना, मध्यम तथा ठूला व्यावसायिक प्रयोजनका सवारी साधनहरू

यस्तै प्रदर्शनीमा साना, मध्यम तथा ठूला व्यावसायिक प्रयोजनका सवारी साधनहरू पनि विशेष आकर्षणको रूपमा प्रस्तुत हुने भएका छन्। विद्युतीय तथा डिजेल–पेट्रोल इन्जिनमा आधारित ट्रक, भ्यान, मिनी बस, लजिस्टिक तथा डेलिभरी प्रयोजनमा उपयुक्त सवारी साधनहरू सहित थुप्रै चिनियाँ ब्रान्डहरूले आफ्ना नयाँ मोडेलहरू पहिलोपटक नेपालमा सार्वजनिक गर्न लागेका छन्।

यसपटकको एक्स्पोमा चेरी वान्डा, डोङफेङ, किङ लङ, सनलङ, फ्यारिजोन, कामा, क्यारी, स्काइवर्थ र केटन जस्ता चिनियाँ व्यावसायिक सवारी निर्माता कम्पनीहरूले भाग लिँदैछन्। यी कम्पनीहरूले भाडा यातायात, मालवाहक सेवा, नगर तथा अन्तरनगर सार्वजनिक यातायात, शहरी डेलिभरी सेवा र स्मार्ट लजिस्टिक समाधानका लागि उपयुक्त मोडलहरू ल्याउने तयारी गरेका छन्।

चेरी वान्डा र क्यारी जस्ता कम्पनीहरू साना लाइट ट्रक, मिनी भ्यान तथा शहरी डेलिभरी गाडीहरूमा केन्द्रित छन्, जसले नेपाली बजारको आवश्यकतालाई प्रत्यक्ष सम्बोधन गर्नेछ। घरेलु बजारमा व्यवसायिक प्रयोजनमा प्रयोग हुने गाडीहरूमा किफायती, दिगो र कम मर्मत खर्च हुने गाडीहरू प्रति व्यवसायीहरूको आकर्षण बढिरहेको सन्दर्भमा यी ब्रान्डहरूबाट आउने मोडलहरूले वैकल्पिक विकल्पको रुपमा बजार विस्तार गर्ने अपेक्षा गरिएको छ।

डोङफेङ, सनलङ र किङ लङले मुख्यतः ठूला बस, मिनी बस र सवारी यातायातका लागि उपयुक्त गाडीहरू सार्वजनिक गर्ने छन्।

त्यस्तै, फ्यारिजोन र स्काइवर्थ जस्ता ब्रान्डहरूले वातावरणमैत्री विद्युतीय ट्रक र भ्यानहरू प्रदर्शनमा ल्याउने तयारी गरेका छन्। यी गाडीहरू स्मार्ट कनेक्टिभिटी, फास्ट चार्जिङ, उच्च लोड क्षमतासहित ल्याइने बताइएको छ।

नयाँ प्रविधि, डिजाइन र पर्यावरणमैत्री सवारी साधनहरू अवलोकन गर्न चाहनेहरूको लागि यो एक्स्पो एक महत्वपूर्ण अवसर हुनेछ।

नेपालमा विद्युतीय सवारी साधनप्रतिको माग तीव्र रूपमा बढिरहेका बेला ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ ले ईभी क्षेत्रका नयाँ सम्भावनाहरूको ढोका खोल्ने अपेक्षा गरिएको छ। यही कारण, धेरै ब्रान्डहरूले आफ्ना ग्लोबल स्तरमा चर्चित मोडलहरू यहींबाट सार्वजनिक गर्ने रणनीति अपनाएका छन्।

नयाँ मोडलहरूका प्रि–बुकिङ घोषणा, अफर तथा राइड अनुभवको अवसरसमेत एक्स्पोमा प्रदान गरिने बताइएको छ।