नयाँ मौद्रिक नीतिमाथि बैंकरको आ–आफ्नै दृष्टिकोण, कसैले दिए ‘धन्यवाद’, कसैले देखाए जोखिम
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गरेपछि पहिलो पल्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुसँग विस्तारित छलफल गरेको छ ।
संघीय राजधानी काठमाडौँको पाँच तारे होटेल मेरियटमा मंगलबार दिउँसो १ः३० देखी ५ः३० बजेसम्म चलेको छलफलमा बैंकरहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
सहभागि एक बैंकरका अनुसार धेरैजसो सीईओहरुले राष्ट्र बैंक र त्यहाँको नयाँ नेतृत्वलाई धन्यवाद दिए । उनीहरुले ‘मागेजति’ वा कतिपय अवस्थामा ‘मागेकोभन्दा बढी’ सुविधाहरु दिएको भनेर केन्द्रिय बैंकप्रति आभार प्रकट गरे ।
तर केही बैंकरले भने मौद्रिक नीति र बैंकिङ्ग क्षेत्रको नियामकीय व्यवस्थाहरुलाई एकैपल्ट ज्यादा उदार भएर खोलिदिँदा भविष्यमा नयाँ खाले वित्तीय जोखिम चर्किने धारणा राखेका थिए ।
यसो भन्नेमा दुई जना सिईओमात्रै रहेका थिए । उनिहलेरू यसरी सबैकुरालाई एकसाथ खुल्ला छाडिदिँदा भविष्यमा समस्या पर्नसक्ने औल्याए ।
विगतमा पनि राष्ट्र बैंकले कोभीड महामारीबाट अर्थतन्त्रलाई जोगाउन भन्दै चालेको ‘लचक’ र ‘संरक्षणवादी’ मौद्रिक नीतिका कारण वित्तीय प्रणाली नै अप्ठेरोमा परेको थियो । त्यसको असरबाट पूर्णतया बाहिर आउन नसक्दै नयाँ गभर्नरले पुन मौद्रिक खुकुलो पनालाई जोड दिएको प्रति उनीहरुले सचेत गराएका हुन् ।
दु्बैजना डेपुटी गभर्नर र विभागीय प्रमुखहरुलाई राखेर बैंकरसँग छलफल गर्न आएका गभर्नर डा. विश्वनाथ पौडेलले भने आफ््नो नीतिको प्रतिरक्षा गरेका थिए ।
तर उनलाई बरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले सार्वजनिक रुपमै ‘चुनौती’ प्रस्तुत गरेको कार्यक्रममा सहभागी एक बैंकरले अर्थपथलाई जानकारी दिए ।
डेपुटी गभर्नर ढुङ्गानाले एफएटीएफको सुक्ष्मनिगरानी सूची (ग्रे लिष्ट)बाट बाहिर आउन अन्य क्षेत्रभन्दा बैंकिङ्ग क्षेत्र नै अझै कडा हुनुपर्ने धारणा राखेको ती बैंकरले जानकारी दिए । ‘गभर्नर र डेपुटी गभर्नरको परस्पर विरोधी धारणा देखिन्थ्यो’, ती बैंकरले भने ।
बैंकिङ्ग क्षेत्र तुलनात्मक रुपमा धेरै पारदर्शी हुँदा हुँदै पनि अझै धेरै समस्या रहेको ढ्ुंगानाले बताएकी थिइन् । त्यस्ता समस्यालाई सम्बोधन गर्नुको साटो खुल्ला र उदार मौद्रिक नीतिले वित्तीय स्थायित्वमा प्रभाव पार्नसक्ने अड्कल डेपुटी गभर्नर ढुंगानाको थियो ।













