नाइमामा भव्य लन्च अघि लिपमोटर बि १० को ‘स्निक प्रिभ्यू’ सम्पन्न, अद्भुत फिचर र मूल्य कस्तो ?
काठमाडौं । नेपालमा लिपमोटर गाडीहरूको एकमात्र आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर बि १० काे ‘स्त्रिक प्रिभ्यू कार्यक्रम सम्पन्न गरेकाे छ ।
साङ्ग्रिला मोटर्सले साउन १४ गते (बुधबार) उत्तरढोकास्थित आपने शोरूममा लिपमोटर बि १० को ‘स्त्रिक प्रिभ्यू तथा पहिलाे झलक प्रदर्शन गरेकाे हाे ।
स्त्रिक प्रिभ्यू कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ्ग प्रत्यक्ष अनुभव गर्न पाए, जसले नेपाली इभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको छ ।
लिपमोटर बि १० को औपचारिक लन्च तथा प्राईस रिभिल आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिनेछ। यो एक्स्पो नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा श्रावण २१-२५ गते (अगस्ट ६-१०) सम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।
साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले आजको स्निक प्रिभ्यू कार्यक्रम, यो गाडीले के दिन सक्छ भन्ने कुराको झलक मात्र भएकाे बताए ।
उनले भने, ‘डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर बि १० साँच्चिकै ‘पर्फेक्ट १०’ हो । हामी यसलाई सार्वजनिक रूपमा नाइमा एक्स्पोमा प्रस्तुत गर्न उत्साहित छौँ र यसले नेपाली ग्राहकको इभीप्रति सोचाइ नै परिवर्तन गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।”
गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले सधैं नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको छ । पुजो, सिट्न र लिपमोटर जस्ता ब्रान्डहरू समेटेको यस कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता लिएको छ।
यद्यपि मूल्य घोषणा उक्त कार्यक्रममा गरिने भए पनि, लिपमोटर बि १० को मूल्य रु. ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउनेछ। यो डाडी स्टर्निङ ब्लु, लाइट्निङ ह्वाइट, ग्यालेक्सी सिल्भर, मेटालिक ब्लाक, मर्निङ ड्यु पर्पल, स्काइफल ग्रे र टुन्ड्रा ग्रे गरी ७ वटा कलरमा उपलब्ध छ ।
प्रविधिमैत्री निर्माण र प्रभावकारी प्रदर्शन
पाँच सिट क्षमता भएको यो एसयूभी लिप ३.५ स्मार्ट प्लेटफर्ममा आधारित छ। यसले बिवाइडी, टाटा, एमजी, हुन्डाई र प्रोटोन जस्ता मोडेलहरूसँग नेपाली बजारमा प्रतिस्पर्धा गर्नेछ। करिब ४,५१५ मिलिमिटर लम्बाइ र १,४१५ लिटरको सामान बोक्ने क्षमता रहेको बी १० भित्री रूपमा निकै फराकिलो छ।
यसमा जडित १६० किलोवाट क्षमताको मोटर ले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ, जसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.८ सेकेन्डमै दिन सक्षम बनाउँछ।
बी १० मा उपलब्ध दुई फरक ब्याट्री विकल्पले ५१० किलोमिटर र ६०० किलोमिटरको यात्रा दूरी सुनिश्चित गर्छन्। दुबै संस्करणमा छिटो चार्ज हुने सुविधा रहेको छ, जसले ३० देखि ८० प्रतिशत चार्ज हुन २० मिनेटभन्दा कम समय लिन्छ।
भित्री सजावट र सुविधा
बी १० भित्र १४.६ इन्चको उच्च गुणस्तरको पर्दा, कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित भ्वाइस सहायक, १२ स्पिकर ध्वनि प्रणाली, पारदर्शी छाना, रङ परिवर्तन हुने बत्ती, फोल्ड हुने कप होल्डर र अनुकूलन गर्न मिल्ने ड्यासबोर्ड समावेश छन्। यी सुविधाहरूले बी १० लाई प्रविधिसँग मेल खाने आधुनिक गाडी बनाएका छन्।
बी १० को विशेषता भनेको यसमा उपलब्ध लिडार प्रविधिमा आधारित स्वचालित ड्राइभिङ प्रणाली हो। उच्च संस्करणहरूमा १२८ लाइनको हेसायी लिडार, तीनवटा तरंग राडार, दुई अगाडि फर्किएका ८ मेगापिक्सेल क्यामेरा र ३६० डिग्री दृश्य दिने प्रणाली समावेश छन्। यी सबै प्रविधिहरू क्वालकम स्न्यापड्रागन राइड ८६५० चिप मा आधारित छन्, जसले चालकलाई स्मार्ट सहायता सुविधा प्रदान गर्छ।
तीन संस्करण, फरक ब्याट्री र मोटर विकल्प
अन्तर्राष्ट्रिय बजारमा लिपमोटर बी १०, ५१० कम्फर्ट, ५१० जोय र ६०० जोय गरि तीन संस्करणमा उपलब्ध छ। ५१० कम्फर्टमा १३२ किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले १७९ पिएस शक्ति र १७५ न्युटन मिटर टर्क उत्पादन गर्छ। यसमा ५६.२ किलोवाट घण्टाको ब्याट्री प्रयोग भएको छ, जसले ५१० किलोमिटरको दूरी तय गर्न सक्छ।
५१० जोय र ६०० जोय संस्करणमा १६० किलोवाटको मोटर रहेको छ, जसले २२० पिएस शक्ति र २४० न्युटन मिटर टर्क दिन्छ। यसमा पनि ५६.२ किलोवाट ब्याट्री नै रहेको छ।
६०० जोयमा ६७.१ किलोवाट घण्टाको ब्याट्री जडान गरिएको छ, जसले ६०० किलोमिटर दूरी प्रदान गर्छ।
लिपमोटर बी १० को आगमनले नेपाली विद्युतीय सवारी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। उन्नत प्रविधि, उच्च सुरक्षा र पहुँचयोग्य मूल्यको संयोजनले यो गाडी नेपाली ग्राहकको रोजाइमा पर्न सक्ने देखिन्छ।
नाइमा एक्स्पोमा यसको सार्वजनिक प्रदर्शनसँगै लिपमोटरले नेपालको विद्युतीय यात्रामा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।













