बैंकको कर्जा अब झनै सस्तो : तीन वर्षयताकै न्यून ब्याजदर, ऋण लिन कुन बैंक रोज्ने ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंकको कर्जा अब झनै सस्तो : तीन वर्षयताकै न्यून ब्याजदर, ऋण लिन कुन बैंक रोज्ने ?



काठमाडौं । देशको मौद्रिक वातावरणमा सकारात्मक परिवर्तन देखिन थालेको छ । निक्षेपको ब्याजदरमा निरन्तर गिरावटसँगै वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) पनि घट्दै गएको छ । यसले कर्जाको लागत तीन वर्षयताकै सस्तो भएको छ ।

साउन महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आधारदरअनुसार औसत बेसरेट ६.१० प्रतिशतमा झरेको छ । यो २०७८ माघयताकै सबैभन्दा न्यून बिन्दु हो ।

विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेप संकलनको लागि ब्याजदर १२ प्रतिशतसम्म पुगेको थियो । यसले कर्जाको लागत दोहोरो अंकमा पुगेर जनतामाथि थप आर्थिक चाप परेको थियो ।

तर, अहिले परिस्थिति फेरिएको छ । बैंकिङ प्रणालीमा तरलता पर्याप्त भएपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । सोही आधारमा कर्जाको लागत पनि घट्दै गएको हो ।

नयाँ गभर्नर डा. विश्वनाथ पौडेल नेतृत्वको राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले पनि यसमा टेवा पुर्याएको छ । मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो र तल्लो सीमा दुवै घटाइएको थियो । त्यसको प्रभावस्वरूप वाणिज्य बैंकहरूले निक्षेपमा दिँदै आएको ब्याजदर झन्डै ०.२५ प्रतिशतले कटौती गरे, यसको प्रभाव कर्जाको आधारदरमा देखिएको हो ।

साउन कुल २० वटा वाणिज्य बैंकहरूमध्ये २ बैंकको मात्रै बेसरेट ५ प्रतिशतभन्दा तल छ । तीमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधारदर सबैभन्दा कम ४.८९ प्रतिशत छ । विदेशी लगानीमा सञ्चालित स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेसरेट पनि ४.९० प्रतिशत मात्र छ । यी दुई बैंकले अहिले सबैभन्दा सस्तो कर्जा दिनसक्ने बैंकका रूपमा दरिएका छन् ।

एभरेष्ट बैंकले ५.३५ प्रतिशतको दरमा आधारदर कायम गरेको छ । त्यस्तै, नेपाल बैंकको ५.६३ प्रतिशत, ग्लोबल आईएमई बैंकको ५.७६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.७८ प्रतिशत र नबिल बैंकको ५.८३ प्रतिशतको दर कायम भएको छ ।
यी बैंकहरूको बेसरेट औसतभन्दा तल भएकाले पनि तुलनात्मक रूपमा सस्तो ऋण उपलब्ध गराउन सक्छन् ।

कृषि विकास बैंकको आधारदर ६.०३ प्रतिशत, सानिमा बैंकको ६.१५ प्रतिशत, एनएमबी बैंकको ६.२० प्रतिशत, नेपाल एसबीआईको ६.२९ प्रतिशत, माछापुच्छ्रे बैंकको ६.३० प्रतिशत, सिद्धार्थ बैंकको ६.३४ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलको ६.३५ प्रतिशत रहेको छ ।

यता, लक्ष्मी सनराइज बैंकले ६.५० प्रतिशत, कुमारी बैंक र प्राइम कमर्सियल बैंकले समान ६.६२ प्रतिशत, हिमालयन बैंकले ६.६३ प्रतिशत र प्रभु बैंकले ६.६६ प्रतिशत आधारदर कायम गरेका छन् । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च बेसरेट भने एनआईसी एशिया बैंकको ७.१८ प्रतिशत छ ।

पछिल्लो एक वर्षको तुलनामा मात्रै पनि बैंकहरूको औसत आधारदर १.५२ प्रतिशतले घटेको छ । २०८१ सालको साउनमा औसत बेसरेट ७.६२ प्रतिशत थियो भने अहिले घटेर ६.१० प्रतिशतमा झरेको छ । २०७९ पुसमा पनि १०.७८ प्रतिशतसम्म पुगेको थियो ।

बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गरेका छन् । यद्यपि, पनि बैंक र कर्जाको प्रकृति अनुसार फरक पनि हुने गर्दछ ।

जसको आधारदर कम हुन्छ, त्यसको कर्जा पनि सस्तो पर्न जान्छ । यही आधारमा हेर्दा राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल बैंक र ग्लोबल आईएमई बैंकबाट कर्जा लिँदा ब्याजदर अन्य बैंकको तुलनामा कम पर्न सक्छ ।


प्रतिक्रिया दिनुहोस्