खाने तेलको निर्यातमा कीर्तिमान, कसरी सम्भव भयो अप्रत्याशित सफलता ?
काठमाडौं । एक समय निरन्तर घट्दो अवस्थामा रहेको नेपालका प्रशोधित खाने तेलहरूको निर्यात फेरि उचाइमा पुगेको छ । केही वर्षदेखि खस्किँदो खाने तेलको निर्यातमा उछाल आएको हो ।
नेपालले एकैवर्ष सवा खर्ब बढीको खाने तेल विदेश निर्यात गरेको छ । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा रहेको प्र्रशोधित खाने तेलले वैदेशिक व्यापारमा उत्साह फर्काएको छ ।
निर्यातको ग्राफ ओरालो लागिरहेको बेला प्रशोधित खाने तेल पुनः नेपालको वैदेशिक व्यापारको मेरुदण्ड बनेर उभिएको छ । विशेषगरी भटमास र सूर्यमुखी तेलको निर्यातमा आएको उछालले नै यस क्षेत्रलाई फेरि चम्काएको हो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८१–८२ को वार्षिक तथ्याङ्कले यस्तो देखाएको हो । गत आवभर नेपालले कुल १ खर्ब २१ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको खाने तेल निर्यात गरेको छ । यो अघिल्लो आवको तुलनामा १६.४२ गुणा बढी हो । अघिल्लो आव २०८०–८१ मा नेपालले कुल ७ अर्ब ४० करोड २५ लाख रुपैयाँ बराबरको मात्रै खाने तेल निर्यात गरेको थियो ।
केन्द्रका अनुसार नेपालले गत आवमा कुल २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको माल वस्तु निर्यात गरेको छ । कुल निर्यातमा खाने तेलको योगदान ४३.९ प्रतिशत छ । यसमा भटमासको तेलको मात्रै ३८.५ प्रतिशत हुन आउँछ । केन्द्रका अनुसार अघिल्लो आवमा नेपालबाट ९० करोड २५ लाख रुपैयाँ बराबरको मात्रै भटमास तेल निर्यात भएको थियो । तर, गत आवमा आइपुग्दा भने ११८.३२ गुणा (११७३२.८१ प्रतिशत) बढेर १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
विभागका अनुसार सूर्यमुखी तेलको निर्यात पनि ७५.३५ गुणा बढेर १२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ पुगेको छ । जबकि, अघिल्लो आवमा यस्तो तेल १६ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । कुल निर्यातमा सूर्यमुखीको योगदान ४.४ प्रतिशत छ । गत आवमा पाम तेलको निर्यात भने ६१.९० प्रतिशत घटेर २ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।
विशेषगरि ठोस नीतिगत लचकता, अन्तर्राष्ट्रिय मूल्यमा घटबढ, प्रविधिमा लगानी र छिमेकी बजारमा उच्च माग लगायतका कारण पनि प्रशोधित खाने तेलको निर्यातमा उछाल आएको हो ।
केन्द्रका अनुसार भटमास र सूर्यमुखीको कच्चा तेलको आयात गत वर्ष उल्लेखनीय रूपले वृद्धि भएको देखिन्छ । गत आवमा मात्र १ खर्ब ४४ अर्ब ७९ करोड २३ लाख रुपैयाँ बराबरको कच्चा तेल आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७३९ प्रतिशतले बढी हो ।
विशेषगरी भटमासको कच्चा तेलको आयात ७१२ प्रतिशत र सूर्यमुखीको कच्चा तेल आयात ६३ प्रतिशतले बढेको छ । केन्द्रका अनुसार गत आवमा १ खर्ब ८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ बराबरको भटमास र २९ अर्ब २ करोड १९ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । यता, पाम तेलको कच्चा पदार्थ आयात भने ३५.६८ प्रतिशत घटेर ६ अर्ब ८१ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।
नेपाली व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेसिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरी प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् । यसैगरी मलेसिया, इन्डोनेसिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् ।
व्यवसायीहरूका अनुसार विश्व बजारमा कच्चा तेल सस्तो हुँदा नेपालले तुलनात्मक रूपमा कम लागतमा तेल ल्याउन सकेको र प्रशोधनपछि भारततर्फ पुनःनिर्यात गर्दा नाफासहित बिक्री गर्न सहज भएको हो । त्यसमाथि, भारतमा माग उच्च हुँदा नेपाली तेलको सहज पहुँच बनेको छ ।
यस्तै, पुनःनिर्यात सम्बन्धी नीति कायमै रहेको र सरकारबाट ठोस रोक नआएकाले उद्योगहरू सक्रिय बनेका छन् । रुपियाँमै हुने कारोबार र साफ्टा अन्तर्गतको कर छुट जस्ता सुविधाले पनि तेल ‘पुनःनिर्यात’लाई गति दिएको उद्योगीहरु बताउँछन् । तेल उद्योगले पछिल्लो समय प्रविधिमा लगानी, उत्पादन क्षमता विस्तार र आपूर्ति सञ्जाल विस्तार गरेपछि निर्यात अझै बढ्न पुगेको उनीहरुको भनाइ छ ।
केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमै नेपालबाट कुल ३ खर्ब ३१ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको खाने तेल निर्यात भएको देखिन्छ ।
विभागका अनुसार आव २०७९–८० मा नेपालबाट कुल २९ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ बराबरको खाने तेल निर्यात भएको थियो । सो आवमा भने खाने तेलको कुल निर्यात ६८.५९ प्रतिशत घटेको थियो ।
यस्तै आव २०७८–७९ मा कुल ९३ अर्ब ६९ करोड ९६ लाख ६२ हजार रुपैयाँ बराबरकोे खाने तेल निर्यात गरेको थियो । आव २०७७–७८ मा ५५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ, आव २०७६–७७ मा ३१ अर्ब ११ करोड ६१ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
















