नाफामा फर्कियो उपकार लघुवित्तः एक वर्षमा ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन, कस्ता छन् अन्य सूचक ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नाफामा फर्कियो उपकार लघुवित्तः एक वर्षमा ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन, कस्ता छन् अन्य सूचक ?



काठमाडाैं । अघिल्लो आर्थिक वर्षमा ठूलो घाटा व्यहोरेको उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष (२०८१/८२) मा उल्लेखनीय सुधार गर्दै ३ करोड ४२ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो वर्ष कम्पनी ३ करोड ५१ लाख रुपैयाँ घाटामा रहेको थियो। घाटाबाट नाफामा फर्किएको यस उपलब्धिलाई लघुवित्तको वित्तीय व्यवस्थापन र कार्यक्षमता सुदृढ भएको संकेतका रूपमा हेरिएको छ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा समेत उल्लेखनीय वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी २२.८१ प्रतिशतले बढेर १७ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, शुद्ध ब्याज आम्दानी १६.८२ प्रतिशतले वृद्धि भई १५ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानीमा १०५ प्रतिशतको वृद्धि भएको छ, जुन अघिल्लो वर्ष १ करोड ७ लाख रुपैयाँ थियो भने अहिले २ करोड १९ लाख रुपैयाँ पुगेको छ।

आय वृद्धिका साथै कम्पनीको सञ्चालन लाभ पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्ष सञ्चालन घाटा ४ करोड ३२ लाख रुपैयाँ थियो भने यो वर्ष ४ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाउन सफल भएको छ। यो कम्पनीको पुनरुत्थानको मुख्य सूचक मानिन्छ।

वित्तीय विवरण अनुसार कम्पनीको इपिएस ३२ रुपैयाँ २६ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष ऋणात्मक ३३ रुपैयाँ ७ पैसा थियो। यसले कम्पनीको लाभांश क्षमतामा पनि सुधार भएको संकेत दिन्छ। तर, प्रति सेयर नेटवर्थ भने घटेर १९० रुपैयाँ ९६ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष २२० रुपैयाँ ६ पैसा थियो।

कम्पनीले कर्जा प्रवाहमा पनि वृद्धिलाई कायम राखेको छ। हाल कम्पनीको कर्जा तथा लगानी २४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.८९ प्रतिशतले बढी हो। निक्षेप संकलन १७.३१ प्रतिशतले वृद्धि भई १४ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने उधारोमा पनि २३.६७ प्रतिशतको वृद्धिसँगै ९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।

तर, कम्पनीको खराब कर्जा भने बढेर ४.८५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष २.१३ प्रतिशत मात्र थियो। यसले कम्पनीको कर्जा असुलीमा केही चुनौती देखाएको छ। त्यस्तै, पूँजी लागत घटेर ६.९३ प्रतिशतमा झरेको छ, अघिल्लो वर्ष यो ८.४ प्रतिशत थियो।

हाल उपकार लघुवित्तको पीई अनुपात १०५.०७ रहेको छ भने पूँजीको जोखिम भारित सम्पत्तिमा अनुपात ९.३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ११.०२ प्रतिशतको तुलनामा केही घटेको हो।

समग्रमा, अघिल्लो वर्षको घाटाबाट पुनरागमन गर्दै उपकार लघुवित्तले यो वर्ष वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार ल्याएको छ, जसले आगामी दिनमा कम्पनीप्रति लगानीकर्ताको विश्वास बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्