बीमा सेवा भुक्तानीमा सहजता, भारतस्थित सेवा प्रदायकलाई अब सिधा भुक्तानी गर्न मिल्ने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बीमा सेवा भुक्तानीमा सहजता, भारतस्थित सेवा प्रदायकलाई अब सिधा भुक्तानी गर्न मिल्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बीमा सेवासम्बन्धी भुक्तानी प्रक्रियालाई सहज बनाउँदै एकीकृत परिपत्र–२०८१ मा संशोधन गरेको छ ।

नयाँ व्यवस्था अनुसार भारतमा रहेका बीमा सेवा प्रदायक लाई अब नेपाली सेवाग्राहीले सिधैँ भुक्तानी गर्न सक्नेछन् ।

यसअघि विदेशी बीमा प्रदायकलाई भुक्तानी गर्न वाणिज्य बैंकको सिफारिससहित राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने प्रावधान थियो । तर, संशोधित व्यवस्थाले सो प्रक्रियालाई हटाउँदै भारतस्थित बीमा प्रदायकलाई प्रत्यक्ष भुक्तानीको सुविधा प्रदान गरिएको छ ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ,‘बीमा, मूल्यांकन, सर्वेक्षण लगायतका सेवाका लागि विदेशमा रहेका सेवा प्रदायकहरूलाई भुक्तानी गर्न अब पूर्व स्वीकृति आवश्यक छैन । यसले अन्तर्राष्ट्रिय व्यापार, वस्तु ढुवानी तथा जोखिम व्यवस्थापनमा संलग्न व्यवसायीहरूलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।’

संशोधित व्यवस्था लागू भएसँगै अब बीमा भुक्तानी प्रक्रियामा समय र प्रक्रियागत झन्झट हट्नेछ । व्यवसायिक लेनदेनमा पारदर्शिता र दक्षता बढ्ने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्