टोखामा आधुनिक होटल र अपार्टमेन्ट: दीपक मल्होत्राको नेतृत्वमा २ अर्बको ‘मिक्स्ड–यूज’ प्रोजेक्ट अगाडि बढ्दै
शहंशाह इन्टरनेशनलको नयाँ मोडेल, ९० युनिट अपार्टमेन्टसहितको परियोजना
काठमाडौं । काठमाडौं उपत्यकाको शहरी विस्तारसँगै रियल इस्टेट क्षेत्रले नयाँ मोड लिएको छ । यस्तो अवस्थामा आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राको नेतृत्वमा होटल तथा आवासीय अपार्टमेन्ट समेटिएको एक ‘मिक्स्ड–यूज’ परियोजना काठमाडौंको टोखामा अघि बढाइएको छ ।
व्यापारिक लगानीमा सक्रिय मल्होत्राको होटल शहंशाह इन्टरनेशनल प्रा.लि. मार्फत निर्माणाधीन यो परियोजनाले शहरी मध्यमदेखि उच्च वर्गीय ग्राहकलाई लक्षित गर्नेछ ।
कम्पनीले करिब २.१३ हेक्टर क्षेत्रफलमा आधुनिक बंकेट हलसहितको आवासीय अपार्टमेन्ट र होटल विकास गर्ने योजना ल्याएको छ । कुल २ अर्ब २ करोड ६० लाख रुपैयाँ लगानीमा निर्माण हुन लागेको परियोजनामा ९० वटा अपार्टमेन्ट युनिट रहनेछ । सुरुमा कम्पनीले आफैं होटल सञ्चालन गर्ने योजना बनाए पनि पछिल्लो समय २५ कोठे होटल भवन लिजमा दिने रणनीति अपनाएको छ ।
केयर रेटिङ नेपाल लिमिटेडका अनुसार कम्पनीले सुरुमा एकीकृत व्यापार मोडेलमा होटल सञ्चालन गर्ने सोच राखेको थियो । तर, अब सो मोडेलबाट हट्दै स्थिर भाडा आम्दानीमा आधारित रणनीति अवलम्बन गरेको।
सो निर्णयले कम्पनीको राजस्वमा स्थायित्व ल्याउने देखिए तापनि, जोखिम–प्रतिफल प्रोफाइलमा परिवर्तन आएको भन्दै क्रेडिट रेटिङ घटाएर ‘ डबल बि माइनस’ पाएको छ ।
कम्पनीले भूमि व्यवस्था तथा अभिलेख विभागबाट स्वीकृति पाइसकेको भए पनि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृति नआएकाले निर्माण प्रक्रिया ढिलो भएको हो । सो ढिलाइले परियोजना कार्यान्वयनमा जोखिम थपिएको र आगामी दिनमा लागत तथा समयको थप दवाव देखिएको मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कम्पनीले होटल निर्माणमा २ अर्ब २६ करोड ९४ लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । परियोजनाको कुल लागतमध्ये ६० प्रतिशत ऋण र ४० प्रतिशत इक्विटी मार्फत व्यवस्थापन गरिनेछ । कम्पनीले हालसम्म १ अर्ब २० करोड रुपैयाँको ऋण संकलन भइसकेको जनाएको छ । बाँकी कर्जा तथा लगानी व्यवस्थापनपछि मात्र निर्माण सुरु हुने अपेक्षा गरिएको छ ।
‘एचएसआइपिएल’ आईएमएस समूह अन्तर्गतको कम्पनी हो । जुन नेपालमा सामसुङ लगायतका अन्तर्राष्ट्रिय ब्रान्डको आधिकारिक वितरकका रूपमा परिचित छ । अध्यक्ष दीपक मल्होत्रा, प्रबन्ध निर्देशक मनीष प्रसाद राजभण्डारी र समूहका सीईओ दिकेश मल्होत्राको नेतृत्वमा कम्पनीले नयाँ किसिमको परियोजना अघि सारेको हो ।
टोखा क्षेत्र शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीको दृष्टिले आकर्षक मानिने स्थान हो, जसले अपार्टमेन्ट बिक्रीमा सहयोग पुर्याउने कम्पनीको अपेक्षा छ ।
हालको आर्थिक अवस्थाले छोटो अवधिमा रियल इस्टेट मागमा केही मन्दी देखिए पनि ‘रेडी–टु–मुभ–इन’ अपार्टमेन्टको माग बढ्दै गएकाले मध्यम अवधिमा सकारात्मक माग अपेक्षित गरिएको छ । कम्पनीले परियोजना समयमै सम्पन्न गर्न सकेमा र भाडा तथा बिक्री आम्दानी समयमै प्राप्त गर्न सकेमा आगामी दिनमा वित्तीय अवस्था सुदृढ हुनेछ ।















