फ्लाइङ कारप्रति प्रधानमन्त्री ओलीको गहिरो चासो, कानुन बनाएर संचालन गर्न नेपाल तयार छ ?
काठमाडौं । कहिल्यै कल्पना गर्नुभएको छ ? चाबी घुमाएर होइन, बटन थिच्नेबित्तिकै कार सिधै आकाशमा उड्नेछ भनेर ? त्यो दृश्य अब चलचित्रमा मात्र होइन, राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा साक्षात् देख्न पाइने भएको छ ।
नेपालीले अब ‘गाडी सडकमा मात्रै हिँड्दैन, आकाशमा पनि उड्न सक्छ’ भन्ने कुरालाई प्रत्यक्ष अनुभव गर्न पाउने भएका छन् । नेपालको अटोमोबाइल इतिहासमै पहिलो पटक भविष्यका सहरहरूमा प्रयोग हुने भनिएको विद्युतीय उड्ने कार ‘दीपल इभीटीओएल युएभी’ अब राजधानीमा अवतरण गर्न लागेको हो ।
आगामी भदौ ३ गतेदेखि सुरु हुने १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा चीनमा निर्मित यो अत्याधुनिक कार पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनमा आउनेछ । यसै अवसरमा चीनको ‘युनिट्र रोबोट्स्’ प्रविधि पनि पहिलो पटक प्रदर्शनमा ल्याइँदैछ ।
‘दीपल इभीटीओएल युएभी’ पूर्णतः विद्युतीय, स्वचालित र ठाडो रूपमा उड्न र अवतरण गर्न सक्ने क्षमतायुक्त आधुनिक यान हो । यसलाई चीनका विभिन्न सहरमा परीक्षण उडानका लागि अनुमति दिइसकिएको छ । पहिलो पटक नेपाल भित्रिँदै गरेको उड्ने इभि कार एमएडब्लू वृद्धि अटो कर्पले प्रदर्शनीमा राख्ने भएको छ ।
प्रधानमन्त्री ओलीको गहिरो चासो, नीति निर्माणमा अग्रसर हुनुपर्ने धारणा
नेपालमा पहिलो पटक देखिन लागेको उड्ने कारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष चासो र सकारात्मक दृष्टिकोण देखाएका छन् । विकास र प्रविधिमा निरन्तर रुचि राख्ने प्रधानमन्त्री ओलीले यस्ता नवप्रवर्तनलाई ‘शोकेस’मा मात्र सीमित नराखी, दीर्घकालीन रूपमा व्यवहारिक बनाउने योजना आवश्यक रहेको औँल्याए ।
नाडाका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले भने,‘उड्ने कारजस्ता प्रविधिहरू केवल प्रदर्शनीका लागि सीमित हुनुहुँदैन, यसलाई व्यवहारिक प्रयोगमा लैजान नीतिगत तयारी अनिवार्य छ ।’ उनले यस्ता प्रविधिले यातायात मात्र होइन, रोजगारी सिर्जना, पूर्वाधार विकास र आर्थिक समृद्धिमा पनि योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
ओलीले वर्तमान कानुनी संरचनामा उड्ने कार सञ्चालनको स्पष्ट मापदण्ड नरहेको अवस्थामा सरकार नीति निर्माणमा अग्रसर हुनुपर्ने धारणा राखे । एयरस्पेस व्यवस्थापन, ट्राफिक समन्वय, सुरक्षाको ग्यारेन्टी, बीमा प्रणाली र पूर्वाधार निर्माणका लागि सरकार, नियामक निकाय र निजी क्षेत्रबीच समन्वयात्मक संयन्त्र खडा गर्नु आवश्यक रहेको उनको जोड थियो ।
नयाँ प्रविधिको नयाँ सम्भावना
दीपल इभीटीओएल युएभीजस्ता उड्ने कारले सहरी हवाई यातायातमा क्रान्तिकारी मोड ल्याउने अपेक्षा गरिएको छ ।
चीनमा यो प्रविधि तीव्र रूपमा अघि बढिरहेको छ । केही कम्पनीहरूले व्यावसायिक परीक्षण उडान अनुमति पनि प्राप्त गरिसकेका छन् ।
नेपालमा भने यस्तो प्रविधिको प्रयोगका लागि अहिले स्पष्ट कानुनी संरचना छैन । तर, यो प्रविधिको प्रभावशाली प्रयोग रेस्क्यू, स्वास्थ्य सेवा र सुरक्षा क्षेत्रमा समेत कल्पना गर्न मिल्ने स्तरमा छ ।
विशेषगरी नेपालजस्ता पहाडी र दुर्गम भूगोल छन् । जहाँ, सडक सञ्जाल पुग्न वर्षौं लाग्छ । त्यहाँ उड्ने कारले आकस्मिक उद्धार, राहत तथा मेडिकल ट्रान्सपोर्टमा हेलिकप्टरको सस्तो र सजिलो विकल्प बन्न सक्ने विश्वास गरिएको छ ।
भूकम्प, बाढी, पहिरो र डढेलोका बेला राहत पुर्याउने, बिरामीलाई अस्पताल लैजाने वा हराएका व्यक्तिहरूको खोजी गर्न यस्तो प्रविधिको प्रयोग प्रभावकारी र सुरक्षित विकल्प बन्न सक्छ । प्रधानमन्त्री ओलीले यीनै सम्भावनाहरूलाई इंगित गर्दै भने,‘समृद्धि टाढाको लक्ष्य होइन, त्यो प्रविधिमैत्री नीति र दूरदर्शी कार्यान्वयनले सम्भव हुन्छ ।’
अब नीति बनाउने कि प्रविधि गुमाउने ?
नेपालमा यस्ता प्रविधि भित्रिन थालेका छन् । तर, संघीय नीति, कानुन र कार्यान्वयन संयन्त्र अझै तयार छैनन् ।
नागरिक उड्डयन प्राधिकरण, यातायात व्यवस्था विभाग, बीमा कम्पनी, सुरक्षा निकाय र स्थानीय सरकारहरूबीच समन्वयात्मक प्रणालीको खाँचो स्पष्ट छ ।
प्रधानमन्त्रीको चिन्तनले अब नीति निर्मातालाई जवाफदेही बनाउने संकेत दिएको छ । प्रविधिलाई समयमै अंगाल्न सकिएन भने ‘दीपल इभीटीओएल युएभी’ जस्ता नवप्रवर्तन केवल प्रदर्शनीको कौतुहलमै सीमित हुने जोखिम हुन्छ । ‘नाडा अटो शो २०२५’ मा देखिने प्रविधिको झल्कोलाई भविष्य निर्माणतर्फ मोड्न सक्ने कि सकिने छैन ? यसले अबको तयारीले तय गर्नेछ ।
भव्य तयारी, ठूलो अपेक्षा
‘नाडा अटो शो–२०२५’ भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । नाडा अटो शो’को उद्घाटन स्वयं प्रधानमन्त्री ओलीको हातबाट हुने निश्चित भएको छ ।
नाडाका अनुसार शोमा १९ वटा यात्रुवाहक गाडी ब्रान्ड, १३ वटा व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीसाधन, ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय सेवा प्रदायकसहित ३५ कम्पनीका स्टलहरू रहने छन् ।
कुल १२५ भन्दा बढी प्रदर्शक र १ लाखभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ । ‘विन्टेज मोटर शो’, ‘मेड इन नेपाल’ प्याभिलियन र स्मार्ट मोबिलिटी तथा दिगोपनमा आधारित सेमिनारहरूले अटो शोको वैज्ञानिक तथा वैचारिक गहिराइ थप्नेछन् ।
नाडाका अनुसार कुल ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको यो प्रदर्शनी नेपाली अटो उद्योगको इतिहासमै हालसम्मकै सबैभन्दा ठूलो शो हुने नाडाको दाबी छ ।















