हिमालयन रिइन्स्योरेन्सले कमायो डेढ अर्ब नाफा, साढे १७ प्रतिशत बढ्यो व्यापार
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले झन्डै डेढ अर्ब नाफा कमाएको छ । कम्पनीले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत वर्ष कम्पनीले १ अर्ब ३९ करोड ३ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५.८४ प्रतिशत बढी हो । अघिल्लो वर्ष पनि कम्पनीले १ अर्ब ३१ करोड ३५ लख ४० हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन भने दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीको यस्तो बीमा शुल्क १७.४५ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ पुगेको छ । जबकि, अघिल्लो वर्ष कम्पनीको यस्तो बीमा शुल्क ५ अर्ब ४३ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
गत वर्ष कम्पनीको खुद दावी भुक्तानी पनि ३०.७६ प्रतिशत बढेर ३ अर्ब ६७ करोड २८ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल आम्दानीमा पनि दोहोरो अंकको बढोत्तरी देखिएको छ । अघिल्लो वर्ष ६ अर्ब ६० करोड ३६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । तर, गत वर्ष आइपुग्दा भने १७.०६ प्रतिशत बढेर ७ अर्ब ७३ करोड ४ लाख रुपैयाँ कायम भएको छ । यता, कुल खर्च पनि १९.१२ प्रतिशत बढेर ५ अर्ब ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि सामान्य बढेर १२.७९ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ १५५.०९ रुपैयाँ छ ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ छ । कम्पनीले विशेष जगेडा कोषमा १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ राखेको छ ।













