‘बढ्दो पर्यटक–घट्दो व्यापार’ : अझै किन दबाबमा होटल व्यवसाय ?
काठमाडौं । नेपालको पर्यटन उद्योगमा विदेशी पर्यटकको चहलपहल बढेको चर्चा चलिरहँदा होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूको आम्दानी र मुनाफाको तथ्यांक भने उत्साहजनक देखिएको छैन ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत यस क्षेत्रका ६ वटा कम्पनीले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
हाल नेप्सेमा यस क्षेत्रका सोल्टी होटल, तारागाँउ, ओरियण्टल, चन्द्रागिरी हिल्स, सिटी, कालिञ्चोक दर्शन सूचीकृत छन् । यी कम्पनीहरुको व्यापार र नाफामा खास सुधार आउन सकेको छैन् । होटलहरुको आम्दानीको तुलनामा खर्च बढी भएको वित्तीय विवरणमा उल्लेख छ । जसका कारण खुद नाफा वृद्धिमा असर पारेको छ ।
गत वर्ष यी होटेलहरु १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर, अघिल्लो आवको तुलनामा भने ०.९१ प्रतिशत कमी हो । अघिल्लो वर्ष पनि यी कम्पनीहरुले १ अर्ब २५ करोड ७९ लाख रुपैयाँ बढी नाफा कमाएका थिए ।
विशेषगरि यी होटेलहरुको व्यापार खास सुधार नहुँदा नै नाफा प्रभावित बनेको हो । अघिल्लो वर्षको तुलनामा व्यापार झिनो ०.४२ प्रतिशत मात्रै बढेको हो । जसले खुद नाफा बढाउन न्यून मात्रै योगदान पुर्याएको छ ।
पछिल्लो समय नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या पनि बढ्दो नै छ । विशेषगरि नेपालमा हवाईमार्ग हुँदै विदेशी पर्यटकको आगमन बढेको देखिन्छ । तर, स्थलमार्ग मार्फत नेपाल भित्रने दर सुस्त हुँदा होटल व्यवसायले अपेक्षित गति लिन नसकेको बताइन्छ । अन्तर्राष्ट्रिय अस्थिरता र स्थलमार्गको कमजोरीले आम्दानीमा प्रत्यक्ष असर परेको व्यवसायीहरु बताउँछन् । अर्को तर्फ राजस्व घट्दा बैंक ऋण र ब्याज तिर्ने चाप बढेको छ, जसले धेरै होटलहरूलाई वित्तीय विवरणमा चमक आउन नसकेको उनीहरु बताउँछन् ।
व्यापार र नाफामा सोल्टी होटल चम्कियो, सिटि होटल दबाबमै
विवरणअनुसार नाफा र व्यापारमा सोल्टी होटल तगडा देखिएको छ । कम्पनीको यी दुवै सूचक दोहोरो अंकमा वृद्धि भएको छ । सोल्टीले खुद नाफा ११.७७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष ६० करोड ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, गत वर्ष आइपुग्दा भने ६७ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
यता, सोल्टीको व्यापार १०.८७ प्रतिशत बढेर २ अर्ब ७७ करोड ८९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पनि होटलले २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
नाफा वृद्धिदर भने कालिञ्चोक दर्शन अगाडी देखिएको छ । कालिञ्चोकको नाफा ४७.८५ प्रतिशत बढेर २ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जबकि, अघिल्लो वर्ष १ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको व्यापार पनि ०.४२ प्रतिशत बढेर ७ करोड ९३ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष भने कम्पनीले ५ करोड ८९ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।
व्यापार घटेपनि चन्द्रागिरी हिल्सले नाफा भने बढाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५.४६ प्रतिशत बढेर २१ करोड ८ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । यता, व्यापार भने १०.७६ प्रतिशत घटेर ७८ करोड २४ लाख रुपैयाँ पुगेको छ । जबकि, अघिल्लो वर्ष कम्पनीको व्यापार ८७ करोड ६८ लाख र खुद नाफा १९ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
गत वर्ष तारागाउँ रेजेन्सीले पनि १ अर्ब ७३ करोड ५९ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकि, अघिल्लो वर्षमा पनि १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यता, कम्पनीले ५१ करोड ५४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तारागाउँको व्यापार ०.४ प्रतिशत र खुद नाफा ०.४७ प्रतिशत मात्रै घटेको हो ।
गत वर्ष १ अर्ब ४ करोड ९३ लाख रुपैयाँ बढीको व्यापार गरेको ओरियण्टल होटलले २ करोड ५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । जबकि, अघिल्लो वर्षमा होटलले १ अर्ब १५ करोड ५६ लाख रुपैयाँको व्यापार गरेको थियो भने १२ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
तर, सीटी होटलको व्यापार दोहोरो अंकमा घटेको देखिन्छ । अघिल्लो वर्ष सीटीले ५८ करोड २४ लाख बढीको व्यापार गरेको थियो । तर, गत वर्ष आइपुग्दा भने ५२ करोड २३ लाख रुपैयाँ झरेको छ । अझै पनि होटल १९ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा देखिन्छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा भने केही घटाएको छ । अघिल्लो वर्षमा यो होटल २० करोड ३२ लाख रुपैयाँ घाटामा चलिरहेको थियो ।













