प्रक्रियागत सरलीकरण र नीति सुधारतर्फ अघि बढ्दै पर्यटन विभाग - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रक्रियागत सरलीकरण र नीति सुधारतर्फ अघि बढ्दै पर्यटन विभाग



काठमाडाैं । पर्यटन विभागले आफ्नो सेवा प्रणालीलाई थप व्यवस्थित, सरल, संस्थागत र प्रविधिमैत्री बनाउने कार्य अघि बढाएको छ।

विभागले कार्यसम्पादनलाई संस्थागत सुधार, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनका माध्यमबाट दक्ष र उत्तरदायी बनाउने योजना अघि सारेको हो।

विभागले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा पर्यटन प्रशासनलाई व्यवसायमैत्री, लगानीमैत्री र प्रविधिमैत्री बनाउँदै पर्यटकहरू र निजी क्षेत्रका लगानीकर्ताहरूलाई आकर्षित गर्ने उद्देश्य राखिएको उल्लेख छ। साथै, अन्तर्राष्ट्रिय अभ्यासलाई राष्ट्रिय प्रणालीमा समावेश गर्ने, पर्यटकीय गतिविधिको विकास र विस्तारलाई विभागले प्रमुख प्राथमिकतामा राखेको बताइएको छ।

विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीका अनुसार, विभागको कामलाई सरल, पारदर्शी र सहज बनाउन विशेष पहलकदमी लिइएको छ।

पहिलोपटक प्रकाशित वार्षिक प्रतिवेदनमार्फत हालसम्म भएका उपलब्धि, भावी योजना, नीति सुधारका आवश्यकता, तथा आइरहेका चुनौतीहरू समेटिएको जानकारी दिँदै, रेग्मीले प्रक्रियागत उल्झनलाई हटाउँदै नियमित कार्यसम्पादनलाई अगाडि बढाइएको स्पष्ट पारे।

विभागले नीतिगत सुधार, पर्यटकीय पूर्वाधारको विकास, गुणस्तरीय आतिथ्य सेवा प्रवर्द्धन, साहसिक पर्यटन विस्तार, र पर्वतीय पर्यटन तथा पर्वतारोहण व्यवस्थापन जस्ता क्षेत्रहरूमा समेत नयाँ योजनासहित सक्रियता बढाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्