३४२ मतसहित नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी, वरिष्ठ उपाध्यक्षमा पौडेल
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी भएका छन्। संघको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै उनले अध्यक्ष पद हात पारेका हुन्।
शेर्पा नेतृत्वको टिमले प्रथम उपाध्यक्ष र एक सदस्यबाहेक अन्य सबै पदमा जित दर्ता गरेको छ। अध्यक्ष पदमा फुर ३४२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गरेका थिए।
फुर नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन व्यवसायीहरूको साझा उम्मेदवार थिए भने गुरुङ सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा एमाले निकट पर्यटन व्यवसायीहरूको तर्फबाट उम्मेदवार बनेका थिए।
वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए।
यस्तै प्रथम उपाध्यक्षमा मिंमा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् ।
त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।













