बीमा कम्पनीका लागि विदेशी मुद्रा सटहीमा कडाइ, यस्तो छ प्राधिकरणको नयाँ निर्देशन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा कम्पनीका लागि विदेशी मुद्रा सटहीमा कडाइ, यस्तो छ प्राधिकरणको नयाँ निर्देशन



काठमाडौं । बीमा कम्पनीका लागि विदेशी मुद्रा सटहीमा कडाई गरिएको छ । नेपाल बीमा प्राधिकरणले नयाँ निर्देशिका जारी गरेको छ ।

प्राधिकरणले बीमकहरूलाई विदेशी मुद्रा सटही सिफारिससम्बन्धी प्रक्रिया कडाइका साथ लागू गर्न ‘विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२’ जारी गरेको हो ।

अब बीमकहरूले पुनर्बीमा, रेट्रोसेसन, विदेशबाट लिइने परामर्श सेवा लगायतका भुक्तानीका लागि विदेशी मुद्रा सटही गर्न प्राधिकरणको सिफारिस अनिवार्य रूपमा लिनुपर्नेछ ।

अब सिफारिस माग गर्दा बीमकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को हस्ताक्षर अनिवार्य हुने भएको छ । यसका साथै पेस गरिएका कागजातहरू कम्तीमा ५ वर्षसम्म सुरक्षित राख्नुपर्नेछ ।

साथै, भारतबाहेक अन्य मुलुकका हकमा अमेरिकन डलर वा सम्बन्धित मुलुकको परिवर्तनीय मुद्रामै सिफारिस माग गर्नुपर्नेछ ।

प्राधिकरणले सटही सिफारिस गर्दा सिधै वा दलालको संलग्नतामा पुनर्बीमा वा सेवासम्बन्धी रकम तिर्न चाहने बीमकले सम्बन्धित संस्था वा व्यक्तिको नाममा मात्र डेबिट नोट वा बीजक पेश गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।

बाणिज्य बैंकका हकमा सिफारिस प्राप्त मितिले १५ दिनभित्र र राष्ट्र बैंकका हकमा ३० दिनभित्र भुक्तानी गरेर सोको प्रमाण प्राधिकरणमा ३ दिनभित्र पेश गर्नुपर्नेछ ।

प्राधिकरणले सिफारिस दिने पुनर्बीमक तथा दलालहरू भने प्राधिकरणबाट पूर्व स्वीकृत सूचीमा सूचीकृत र आवश्यक रेटिङ प्राप्त भएकाहरू मात्र हुनुपर्नेछ ।

यस्तो छ प्राधिकरणको नयाँ निर्देशन


प्रतिक्रिया दिनुहोस्