निजी वायुसेवा कम्पनीका सबै आन्तरिक उडान बन्द
काठमाडौं। बुधबारदेखि निजी वायुसेवा कम्पनीहरूका सबै आन्तरिक उडान स्थगित भएका छन्।
दुई दिनयता मुलुकमा सिर्जित विषम परिस्थिति मध्यनजर गर्दै सबै आन्तरिक उडान अर्काे सूचना नआएसम्मका लागि बन्द गरेका हुन् ।
संघमा बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर, एयर डाइनेस्टी, माउन्टेन हेली सर्भिसेस, प्रभु हेलिकप्टर्स र सिम्रिक एयर जस्ता वायुसेवा कम्पनीहरू सदस्य छन्।
निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले जारी गरेकााे विज्ञप्तिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्रै उडानहरू पुनः सञ्चालनमा आउने जानकारी दिएकाे हाे ।
आन्दोलन र हिंसात्मक घटनाहरूका कारण यात्रुहरूको विमानस्थल आवतजावतमा असहज भएकाले सबै उडान बन्द गरिएको संघले जनाएको छ।
“विमानस्थल खोलिएपछि संघका सदस्य कम्पनीहरूले आफ्ना उडानहरू पूर्ववत् सञ्चालन गर्नेछन्। सम्पूर्ण यात्रुहरूलाई समयमै विमानस्थल पुग्नका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न आग्रह गर्दछौं” विज्ञप्तिमा भनिएको छ।
संघले केही अराजक व्यक्तिहरूले निजी वायुसेवा कम्पनीका कार्यालयहरूमा आगजनी गर्ने घटनालाई गम्भीर रूपमा निन्दा गरेको छ।













