आजदेखि खुले बैंक वित्तीय संस्था, सर्वसाधारणलाई सेनाको कडाइ
काठमाडौँ । जेनजीको आन्दोलनको कारण मङ्गलवार र बुधवार बन्द रकेका बैंक वित्तीय संस्थाहरू आजदेखि खुलेका छन् ।
आज बिहान नेपाल बैंकर्स एसोसिएसनको भर्चुअल बैठकले उपत्यका भित्रका आवश्यक बढीमा ३ ओटासम्म शाखा संचालन गर्ने निर्णय भएको बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बताए ।
‘हामी उपत्यका बाहिर पनि सुरक्षा संवेदनशीलता हेरेर बैङ्किङ सेवा सुरु गर्दै जानेछौँ ’ अध्यक्ष कोइरालाले अर्थपथसंग भने । सेनाले सुरक्षाको लागी केही नम्बरहरू उपलब्ध गराएकाले अफ्ठेरो परे फोन गरेर सुरक्षा लिने गरी बैंकका शाखाहरू खुला गरिने कोइरालाले बताए ।
बैंक खुले पनि काठमाडौँ चक्रपथभित्र सर्वसाधारणलाई प्रवेशमा सेनाले कडाइ गरेको छ ।
राजधानीमा शुक्रबारसम्मनै कर्फ्यु जारी भए पनि बैंक वित्तीय संस्था इन्स्योरेन्स कम्पनीहरूका कर्मचारीलाई परिचयपत्र देखाएर कार्यालय जान दिइएको छ ।
बैंक वित्तीय संस्था अत्य आवश्यक सेवाभित्र पर्ने भएकाले सेनाले सुचारु गर्न अनुमति दिएको हो । आजदेखि बैंक, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफरलगायतले बिहान १० बजे देखी दिउसो २ बजेसम्म सेवा दिने भएका छन् ।













