जेनजी आन्दोलनबाट जलेको सम्पत्तिको बीमा दाबी सहज बनाउन प्राधिकरणको निर्देशन
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी सहज र छिटो फछ्यौट गर्न नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई आग्रह गरेको छ ।
प्राधिकरणले भदौ २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण बीमितको धन सम्पत्तिमा व्यापक क्षति भएको उल्लेख गर्दै त्यसको दाबी प्रक्रियामा ढिलाइ नगर्न निर्देशन दिएको हो ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित विभिन्न स्थानमा सरकारी र निजी भवन, पसल, होटल, सवारीसाधन लगायतमा ठूलो आर्थिक क्षति पुगेको छ ।
प्राधिकरणको सूचनामा भनिएको छ,‘उक्त परिस्थितिको कारण बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फछ्यौट गर्न अनुरोध गरिन्छ ।’
प्राधिकरणले बीमा कम्पनीहरूलाई प्रत्येक हप्ताको बुधबारसम्म क्षतिको विवरण साप्ताहिक रूपमा पेस गर्न पनि निर्देशन दिएको छ ।














