जेनजी आन्दोलनः दुई दर्जन होटलमा क्षति, करिब २५ अर्बको नोक्सानी
काठमाडाैं । भदाै २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा झन्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको छ ।
हाेटल संघ नेपालले एक विज्ञप्ति जारी गर्दै झन्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको र २५ अर्ब भन्दा बढीकाे नाेक्सानी भउकाे जनाएकाे हाे ।
संकलित प्रारम्भिक जानकारी अनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा भएका तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्ब भन्दा बढीको क्षति समेत गरी देशैभरी करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।
यसबाट प्रभावित सदस्य होटलहरु मर्मत संभार, पुनर्निर्माण नगरी संचालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजिरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने र हाल संचालन अवरुद्ध भएका यी होटलहरुले व्यहोर्नु पर्ने बैंक–वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रुपमा तिर्न बुझाउन असमर्थ रहने देखिएको छ ।
‘सुशासन विकास र जनताले खोजेको मुलभूत परिवर्तनका लागि दर्जनौं नव युवाहरुले जीवन बलिदान गरेका र सयौं घाइते महान योद्धाहरुको त्यागबाट सफल रहेको आन्दोलनबाट प्रारम्भ हुन लागेको संक्रमणकालिन हालको अवस्थामा सर्वसाधारणको सेयर लगानी भएको पब्लिक लिमिटेड कम्पनी सहितको निजी क्षेत्रका यस प्रकारको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको यथाशीघ्र शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ भई अपराधीलाई उचित क्षतिपूर्ति सहितको दण्ड हुन तथा मर्मत संभार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न तथा आर्थिक स्थायित्व तथा समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न होटल संघ नेपाल जोडदार माग गरेकाे छ’ विज्ञप्तिमा उल्लेख छ ।













