एनसेलको प्रतिबद्धता: संकटपछि पुनः उठ्ने संकल्प
काठमाडौं । गत हप्ताको आन्दोलनका क्रममा भएको तोडफोडले एनसेल नेपालका विभिन्न कार्यालयहरूमा गम्भीर क्षति पुर्याएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखराका क्षेत्रीय कार्यालयहरूमा भौतिक क्षति पुगेको पुष्टि गरेको छ। यस घटनाले कर्मचारीहरूको सुरक्षामा समेत गम्भीर चुनौती उत्पन्न गराएको कम्पनीले जनाएको छ।
यस्ता कठिन परिस्थितिमा पनि एनसेलले देशभर दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउने आफ्नो मूल उद्देश्यमा अडिग रहँदै तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा प्रदान गरेको थियो। कम्पनीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्याउँदै आएको र ग्राहकप्रतिको समर्पण अझै मजबुत रहेको स्पष्ट पारेको छ।
नेपालमा अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय सुरु हुँदै गर्दा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै देशका युवाहरूको अगुवाइमा भएको परिवर्तनलाई स्वागत गरेको छ। कम्पनीले यो परिवर्तनले एकता, शान्ति र समृद्धिको नयाँ युग ल्याउने विश्वास व्यक्त गरेको छ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा एनसेलले रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान र डिजिटल नेपाल निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कम्पनीले देश र जनताको सेवामा अझ दृढ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ।
अन्त्यमा, आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गरिएको छ
















