सर्वोच्चको पत्रसहित हाजिर भए बीमा प्राधिकरण अध्यक्ष ओझा
काठमाडौं । सरकारले बर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा कार्यालय फर्किएका छन् ।
मंगलबार सर्वोच्च अदालतको पत्र बुझेपछि उनी प्राधिकरण पुगेका हुन् । निर्देशक पुजन ढुंगेल ‘अधिकारी’का अनुसार आजदेखि अध्यक्ष ओझा हाजिर भएका हुन् ।
अघिल्लो सोमबार अर्थात् भदौ २३ गते ओझालाई पदबाट तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतले ओझालाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्तिको प्रक्रियालाई यथास्थितिमै रोक्न आदेश जारी गरेको हो ।
सरकारले चार महिना मात्रै काम गरेका ओझालाई कार्यसम्पादन कमजोर भएको भन्दै बर्खास्त गरेको थियो । उक्त निर्णयको विरुद्ध ओझाले अघिल्लो आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।













