जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी तिर्न सिद्धार्थ प्रिमियरले उठायो ‘आक्रामक कदम’
काठमाडौँ । जेनजी आन्दोलनका क्रमामा भएको हुलदंगा, तोडफोड तथा आगजनीका कारण क्षति व्यहोरेका बिमितहरुलाई सकेसम्म चाँडो बीमा दाबी भुक्तानी गर्न थालिसकेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जनाएको छ ।
कम्पनीले ‘दु:खद घडीमा भरोसाको सहारा’ दिने भन्दै तत्काल बीमा दाबीका लागि आवस्यक कागजातहरु उपलब्ध गराउन पनि आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।
कम्पनीले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘राष्ट्रका पूर्वाधार, उद्योग–व्यापार र व्यक्तिगत सम्पत्तिमा व्यापक क्षति भएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार अर्बौँ रुपैयाँको क्षति भई नेपालका बीमा कम्पनीहरूमा उल्लेखनीय संख्यामा बीमा दाबी दर्ता भइरहेका छन् ।’
यस विषम परिस्थितिको समयमा सकारात्मक सोचका साथ सम्पूर्ण व्यवसाय पुनरुत्थान तथा रास्ट्र पुनर्निर्माणको महान अभियानमा सरिक भई योगदान पुर्याउन आफूहरु प्रतिबद्ध रहेको कम्पनीले बताएको छ ।
साथै, बीमा दाबी रकमको एकिन विवरण संकलन गर्ने कार्य हाल जारी रहेको कम्पनीले जनाएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबी फर्छ्यौट प्रक्रिया तथा भुक्तानी सुरु गरिसकेको पनि बताएको छ ।
‘हामीलाई थाहा छ, बीमाको आवश्यकता कठीन क्षणमा पर्छ। तसर्थ सिद्धार्थ प्रिमियरको दाबी भुक्तानीको प्रयास सदाझैँ छिटो र पारदर्शी हुन्छ भन्नेमा विश्वस्त हुन अनुरोध छ’, कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ ।
भदौ २४ गते भएको आगजनी तथा हुलदंगा पश्चात भोलिपल्टैदेखि कम्पनीका उच्चपदस्थ अधिकारी र सर्भेयरको टोलीले विभिन्न बीमितहरुको क्षती भएको सम्पत्तिको निरिक्षण तथा प्रारम्भिक सर्वेक्षण थालिसकेको कम्पनीले बताएको छ ।
हाल कम्पनीका बीमितहरूको दाबी परेका सम्पत्तिहरुको बीमा दाबी फर्छ्यौट प्रक्रिया द्रुत गतिमा अगाडी बढाई भुक्तानी समेत गरिरहेको जनाएको छ ।
कम्पनीमा बीमितहरुको सम्पत्ति आन्दोलनको क्रममा क्षती भएको, तर हालसम्म पनि जानकारी गराउन छुटेको भए यथाशिघ्र दाबी सम्बन्धि जानकारी कम्पनीका देशभरिका शाखा, प्रदेश तथा प्रधान कार्यालयमा गराउन पनि उसले आह्वान गरेको छ ।
कम्पनीले गत वर्षको बाढी पहिरोका कारण सिर्जित दाबी निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी भुक्तानी गरेको थियो । अब पनि शिघ्रताका साथ दाबी फर्छ्यौटको लागि कम्पनी प्रतिबद्ध रहेको वक्तव्यमा भनिएको छ ।













