उद्योग पुनर्निर्माणका लागि आयातमा ५० प्रतिशत भन्सार छुट, बीमाको आधा रकम अग्रिम भुक्तानी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका उद्योग र व्यवसायलाई पुन: सञ्चालनमा ल्याउन विशेष राहतको व्यवस्था भएको छ । त्यस्ता उद्योग तथा व्यवसाय पुन: निर्माण तथा संचालनमा ल्याउन सरकारले आयात हुने सामग्रीमा ५० प्रतिशतसम्म भन्सार छुट दिने निर्णय गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यति बेला सरकार प्रभावित आर्थिक गतिविधि छिट्टै सुचारु गर्ने लक्ष्यसहित अगाडि बढेको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री रामेश्वर खनालले यस्तो जानकारी गराएका छन् । उनका अनुसार उद्योग तथा व्यवसायलाई शीघ्र पुनस्र्थापना गर्न सरकार, नेपाल राष्ट्र बैंक (एनआरबी) र बीमा प्राधिकरणमार्फत विभिन्न प्रकारका राहत कार्यक्रम लागू गर्ने तयारी भएको छ ।
उनका अनुसार आन्दोलनका कारण ध्वस्त भएका सम्पत्ति पुनर्निर्माणका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार शुल्कमा ५० प्रतिशतसम्म छुट दिइने छ।
खनालले थप जानकारी दिँदै भने,‘बीमा गरेका उद्योग तथा प्रतिष्ठानले क्षतिको ५० प्रतिशतसम्म अग्रिम दाबी गर्न सक्नेछन्। साथै, प्रभावित व्यवसायीहरूले लिएका ऋणको म्याद पनि आवश्यक अनुसार पछाडि सारिने व्यवस्था हुनेछ ।’
सरकारले रोजगारी जोगाउन विशेष कर्जा कार्यक्रम पनि ल्याउने तयारी गरेको खनाललले जानकारी गराए । कर्मचारी वा मजदुरको तलब भुक्तानी गर्नका लागि व्यवसायीहरूले कर्जा लिएर भुक्तानी गर्न चाहनेलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ । भुक्तानी गर्न नसक्नेहरूका लागि भने राष्ट्रिय स्तरमै खडा गरिने पुनर्निर्माण कोषमार्फत आवश्यक सहयोग उपलब्ध गराइनेछ ।
जेनजीआन्दोलनले उद्योग, व्यापारिक प्रतिष्ठानदेखि दैनिक आर्थिक क्रियाकलाप सम्ममा व्यापक असर पुर्याएपछि सरकारले यस्तो निर्णय लिएको छ । यसले प्रभावित क्षेत्रको पुनर्निर्माण र रोजगारी सुरक्षणमा राहत पुग्ने खनालले बताए ।













