१० घण्टा अबरुद्ध नागढुंगा–मुग्लिन सडक सञ्चालनमा
काठमाडौं । धादिङको बेनीघाट रोराङ–१० स्थित बाँदरे मोड नजिक मंगलबार बिहान खसेको सुक्खा पहिरोका कारण अवरुद्ध भएको नागढुंगा–मुग्लिन सडक झण्डै १० घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
बिहान ५:४० बजे खसेको पहिरोले राजधानी आउने–जाने सवारी आवागमन ठप्प भएको थियो । सवारी जामका कारण सयौं यात्रु अलपत्र परेका थिए ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार प्राविधिक टोली, सुरक्षाकर्मी र सडक विभागको सहकार्यमा पहिरो हटाइएको हो। पहिरो ठूलो भएकाले लामो समय लागेको जनाइएको छ।
घटना हुँदा विभागले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेको थियो।













