घरमा पैसा राख्न आत्तिएका हुन् मान्छे ? बैंकमा थुप्रिन थाल्यो ढुसी आएका नोट
काठमाडौँ । पछिल्लो समय जेनजीले गरेको आन्दोलनका दौरान केही राजनीतिक दलका नेताहरुको घरमा नगद पैसा जलेको घटनापछि मानिसहरु घरभित्र पैसा थुपार्न आत्तिएजस्तो देखिएको एक बैंकरले बताएका छन् ।
बैंकहरुमा अहिले ढुसी गह्नाउने नोटहरु धमाधम निक्षेपको रुपमा भित्रिरहेको बैंकरले बताएका छन् । एक हजार र पाँच सय दरका त्यस्ता नोटहरु बैंकमा ठूलो मात्रामा जम्मा भएका छन् । यस्ता नोट नियोजित रुपमै लामो समय कुनै चिसो ठाउँमा भण्डारण गरेर बैंकमा ल्याएजस्तो देखिन्छ ।
बैंकबाट नगद निकाल्ने व्यक्तिहरुले पनि आफूलाई बैंकले ढुसी परेका नोट दिएको भन्दै रोष व्यक्त गरेका छन् । ‘पोहोर परार त दशैँको बेला नोट साट्दा दाह्री काट्न मिल्ने कटकटे नोट पाइन्थ्यो । अहिले त समात्दा पनि च्यातिएलाजस्तो, ढुसी गह्नाउने नोट दिइरहेको रहेछ’, काठमाडौँको पुतलीसडकमा बैंकबाट नगद निकालेर आएका एक व्यक्तिले भने ।
जेनजी आन्दोलनका क्रममा माओबादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापती शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री दीपक खड्का लगायतको घरमा प्रवेश गरेका आन्दोलनकारीले ठूलो मात्रामा नगद भेट्टाएको र त्यसमध्ये कतिपय पैसा जलेको भनेर सामाजिक सञ्जालहरुमा भिडियो सामग्री छ्यापछ्याप्ती भएको छ ।
त्यस्तो पैसा कतिपय आन्दोलनकारीले लुटेको हुनसक्ने र उनीहरुले नै थोरैथोरै गरेर बैंकमा जम्मा गरेको हुनसक्ने आँकलनहरु भइरहँदा केही बैंकरले भने ठूलो मात्रामै निक्षेप संकलन भइरहेको बताएका छन् ।
कतिपयले आन्दोलनका क्रममा केही भाग जलेका नोटहरु समेत बैंकमा जम्मा गर्न ल्याउन थालेपछि उक्त नोटहरु चोरीको भएको हुनसक्ने भन्दै बैंकहरुले निक्षेप स्वीकार नगर्ने भएका छन् । देशैभरी कयौँ साना–ठूला नेताको घर जलेको र त्यसमा कति पैसा जल्यो भन्ने कुनै आँकडा नभएका कारण पनि बैंकहरुलाई निक्र्योल गर्न कठीनाई भइरहेको छ ।
त्योभन्दा बढी चाहीँ बोरामा वा साना गुफाजस्ता कोठा नै बनाएर वा दराजमा नगद भण्डारण गर्दै आएका व्यक्तिहरुले अब त्यस्तो पैसा विस्तारै बैंकमा ल्याउन थालेको हुनसक्ने बैंकर बताउँछन् । ‘पहिले पहिले पनि यस्तो ढुसी गह्नाउने पैसा बैंकमा आइरहेका हुन्थे’, एक बैंकरले भने । तर विगत केही वर्षदेखि यस्तो प्रबृत्ति रोकिएको भए पनि यो पल्ट पुनः त्यस्तै घटना दोहोरिएको उनले बताए ।
तथ्यांकले के भन्छ ?
नेपाल बैंकर्स संघले प्रकाशन गर्ने तथ्यांकका आधारमा गत भदौका पछिल्ला दुई हप्तामा ब्यापक मात्रामा निक्षेप थुप्रिएको देखिन्छ । भदौको सुरुआति दुई हप्तामा ११ अर्ब हाराहारीमात्रै निक्षेप बढेको वाणिज्य बैंकहरुमा भदौ अन्तिमका दुई साताभित्र ६३ अर्ब २२ करोड निक्षेप थपिएको छ ।
यसरी थपिएको ठूलो निक्षेपको एक महत्वपूर्ण हिस्सा स्रोत नखुल्ने सम्पत्तीलाई आन्दोलनले अस्थिर भएको परिवेशमा बैंकिङ प्रणालीमा छिराइएको हुनसक्ने अड्कलबाजीहरु पनि भएका छन् ।
नेपाल बैंकर्स संघले प्रकाशन गरेको निक्षेप र कर्जाको आँकडा

निक्षेपमा भएको उक्त बढोत्तरी विदेशबाट आउने रेमिट्यान्सको लेखाका कारणमात्रै भएको होइन, बजारबाट नगद पैसा नै बैंकमा फर्किएको हो भन्ने आधार ‘चलनचल्तिका मुद्रा’को तथ्यांकले पनि पुष्टि गर्छ । राष्ट्र बैंक र सबै बैंक तथा वित्तीय संस्थाहरुभन्दा बाहिर भएको मुद्राको बढोत्तरी त्यस अवधिमा अस्वाभाविक रुपमा सुस्ताएको छ ।
आन्दोलन सुरु भएको अघिल्लो दिन २२ भदौमा चलनचल्तिमा रहेको मुद्रा ७ खर्ब ३९ अर्ब हाराहारी थियो । भदौ ३० सम्म आउँदा त्यो रकम ५ अर्बजति मात्रै बढेर ७ खर्ब ४४ अर्ब पुग्यो । दशैँ लागिसकेपछि अर्थात् घटस्थपनाको दिनसम्ममा अर्को १७ अर्ब बढेर ७ खर्ब ६१ अर्ब पुगेको छ ।
जबकी अघिल्लो वर्ष घटस्थपना अघिको एक हप्तामा मात्रै यस्तो चलनचल्तिमा जाने मुद्रा ३० अर्ब २४ करोडभन्दा धेरै अन्तरले बढेको थियो । यसले पनि मानिसहरुले बैंक तथा वित्तीय संस्थामा पैसा थुपार्ने क्रम बढेको देखाउँछ ।
दशैँको बेलामा ठूलो मात्रामा खाताबाट पैसा झिक्ने गरिन्छ । तै पनि बैंकबाहिर थुप्रिने पैसाको मात्रा अघिल्ला वर्षको अनुपातमा आधामात्रै बढेको देखिन्छ । घरघरमा पुग्ने रेमिट्यान्स आइरहेको, आयात र निर्यातका आँकडाहरुमा उल्लेख्य सुधार भएको तथा बजार चलायमान रहेको अवस्थामा पनि यसरी नगदको प्रयोग बढ्न नसक्नुको पछाडी मानिसहरु त्रसित भएको हुनसक्ने जानकार बताउँछन् ।













