६० प्रतिशत पन्छाइयो तुइनखोलाको पहिरो, मुग्लिन–नारायणगढ सडक आजै खुल्न सक्ने
काठमडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो पन्छाउने कार्य तीव्र गतिमा जारी छ । सडक डिभिजन भरतपुरका अनुसार हालसम्म करिब ६० प्रतिशत पहिरो हटाइसकिएको छ ।
नारायणगढतर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिनतर्फबाट लोडर २ तथा एक्साभेटर १ गरी कुल ५ वटा उपकरण परिचालन गरिएको छ । साथै, दुवैतर्फ १/१ वटा ब्याक हो लोडर पनि तयारी अवस्थामा छन् ।
डिभिजनले कामको क्षेत्र साँघुरो भएकाले एकपटकमा अधिकतम ५ वटा मेसिनमात्रै परिचालन गर्न सकिने जनाएको छ । पहिरोमा ठूला ढुंगा, तीखा पत्थर तथा टायर पंचरजस्ता समस्या देखिए पनि उपलब्ध उपकरणहरूले पूर्ण क्षमतामा काम गरिरहेको जानकारी दिइएको छ ।
नारायणगढ साइडतर्फ ठूला चट्टानले केही कठिनाइ उत्पन्न गरे पनि हेटौंडा र डुम्रेबाट थप २ जना अनुभवी अपरेटर पनि झिकाइएको छ । मौसम अनुकूल रह्यो र कुनै बाधा नआए आजै रातीसम्म पहिरो पूर्णरूपमा हटाई सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।













