जेनजी आन्दोलनपछि नेपाल रिइन्स्योरेन्समा भाँडभैलो, १८ अर्बको बीमा दाबी बोकेर सीईओ भेट्न पुगेको बीमक संघले भन्यो– छिटो पैसा दिनुस्
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा लूटपाटबापत ठूलो रकम दाबी तिर्नुपर्ने स्थिति बनेपछि सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्समा भाँडभैलो भएको छ ।
कम्पनीका दुई सञ्चालनले राजिनामा दिएको र प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै भागेको खबरहरु आएका थिए । तर सीईओ सुरेन्द्र थापाले विहीबारबाट हाजिर गरेका छन् ।
त्यसअघि कर्मचारीसँगको विवादमा परेपछि मौखिक राजिनामा दिएर अर्थात् ‘अब म आउँदिन’ भनेर हिँडेका सीईओ थापा गत बुधबार प्रहरीकहाँ गएर ‘मिलापत्र’ भएको भन्दै विहीबार हाजिर गर्न आएका हुन् ।
सीईओ कार्यालय फर्किएपछि नेपाल बीमक संघका पदाधिकारीले शुक्रबार विहानै नेपाल रिको कार्यालयमा डेलिगेशन लिएर पुगेका थिए । उनीहरुले बीमाको अग्रीम दाबी भुक्तानी गरिरहेको भन्दै पुनर्बीमा कम्पनीले पनि त्यसरी नै अग्रिम दाबी भुक्तानी दिनुपर्ने भनेका छन् ।
नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवार क्षेत्रीको नेतृत्वमा गएको टोलीले यथाशक्य चाँडो बीमा दाबीको भुक्तानी दिन आग्रह गरेको छ । त्यसपछि रिइन्स्योरेन्सले पनि अहिलेसम्म आएका दाबीको स्टेटमेन्ट पठाउन भनेको छ ।
बीमा कम्पनीहरुमा हालसम्म २३ अर्बभन्दा धेरै दाबी आइसकेको भनेर नेपाल बीमा प्राधिकरणले तथ्यांक सार्वजनिक गरिसकेको छ । बीमा कम्पनीहरुका अनुसार यस्तो दाबी २५ अर्ब हाराहारी पुगिसकेको छ ।
यस्तो दाबीमा बीमा कम्पनीहरुले ज्यादातर बीमाकोख ३५ प्रतिशत जति जोखिम बहन आफैँले गरेका छन् । ठूलो मूल्यका बीमालेखमा भने ३० प्रतिशत हाराहारीमात्रै जोखिम कम्पनीहरुले लिएका छन् ।
हुलदंगा तथा आतंकवाद शीर्षकमा हुने यस्तो बीमाको पुनर्बीमा नेपाल रिइस्योरेन्सले मात्रै गरेको छ । यसको असर हिमालयन रिइन्स्योरेन्समा पर्दैन ।
अहिले कम्पनीहरुले पठाएको दाबीको आधारमा पनि १८ अर्बको ६५ प्रतिशत हाराहारी अर्थात करीब १२ अर्ब नेपाल रिइन्स्योरेन्सले तिर्नुपर्ने हुन्छ । समाचार स्रोतहरुका अनुसार नेपाल रिइन्स्योरेन्सले पनि ३५ प्रतिशत जतिमात्रै जोखिम लिएर बाँकी जोखिम जर्मन पुनर्बीमक कम्पनीलाई हस्तान्तरण गरेको भनिएको छ ।
तर अहिले दाबी परेका बीमालेखमध्ये कम्पनीहरु, नेपाल रि र विदेशी कम्पनीले कति कति प्रतिशत दाबी तिर्नुपर्ने हुन्छ भन्ने यकिन विवरण आइसकेको छैन । ६५ प्रतिशत दायित्व बाहिर पठाएको हो भने पनि नेपाल रीले अहिले ४ देखि ६ अर्ब रुपैयाँ हाराहारी दायित्व आफ्नै बीमाकोषबाट तिर्नुपर्ने हुन्छ । यो बीमा दाबी बढ्दै जाँदा ७ देखि १० अर्बको दायित्व नेपाल रिइन्स्योरेन्सको थाप्लोमा पर्नसक्ने अनुमान गरिएको छ ।
बीमा कम्पनीहरुले ८० करोडभन्दा बढी दाबीको अग्रीम भुक्तानी गरिसकेका छन् । अहिले अप्ठेरोमा परेका ठूला ग्राहकलाई सहायता दिने भनेर बीमाको दाबी तिर्ने प्रयास गरिरहेका छन् ।
यस्तो बेला पुनर्बीमाले पनि अग्रीम भुक्तानी दिएर बीमा कम्पनीहरुको संरक्षण गर्नुपर्ने माग नेपाल बीमक संघले गरेको छ । तर यसरी बीमाको दाबी तिर्दा सरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्स भने ठूलो वित्तीय जोखिममा पर्ने संभावना बढेको छ ।













