बीमा प्राधिकरणका नयाँ अध्यक्ष शर्माद्वारा पदभार ग्रहण
काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् ।
यसअघि, आजै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल असोज ९ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष शर्मालाई जिम्मेवारी दिएको हो ।
प्राधिकरणमा कार्यभार सम्हाल्ँदै अध्यक्ष शर्माले हालको कठिन अवस्थामा बीमा सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउँदै बीमा दाबी भुक्तानीलाई छिटोछरितो र प्रभावकारी तुल्याउनु आवश्यक भएको बताए ।
अध्यक्ष शर्माले भने, “हालैको नयाँ पुस्ताको आन्दोलनको भावना र बदलिँदो परिवेशमा सरकारले लिएका नीति तथा कार्यक्रम अनुसार समग्र बीमा क्षेत्र सेवाको गुणस्तर बढाउँदै आम नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी अघि बढ्नु आवश्यक छ, बीमा कम्पनीहरू प्रचलित कानून बमोजिम अघि बढ्नुपर्छ र प्राधिकरणले पनि नियमनलाई थप प्रभावकारी बनाउनुपर्छ ।”
बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानी प्रक्रियालाई झन्झटरहित बनाएर समयमैं दाबी भुक्तानी दिनुपर्ने उनले बताए । यसले बीमाप्रतिको विश्वास र बीमाको दायरा बढ्दै जाने, बीमाको दायरा बढ्दै गएपछि लागत पनि कम हुँदै जाने उनकाे भनाइ छ ।
यस्तै अध्यक्ष शर्माले सही नियतका साथ गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न प्राधिकरणका कर्मचारीहरूलाई निर्देशन समेत दिए।













