दशैंमा प्राधिकरणको रणनीति : ३८ सय मेगावाट क्षमताको मर्मत, उत्पादनमा कस्तो असर पर्छ ?
काठमाडौं । देश दशैंको रंगमा रमेका बेला नेपाल विद्युत् प्राधिकरण भने अर्को किसिमको तयारीमा व्यस्त छ । मान्यजनको आशीर्वाद, टीका–जमाराको उत्सव र घर–घरको रौनकका बीच प्राधिकरणले यही मौकालाई रणनीतिक योजनामा बदल्दै जलविद्युत् परियोजनाको नियमित मर्मत–सम्भारलाई प्राथमिकता दिएको छ ।
खपत घट्दा उत्पन्न हुने अवसर
दशैंमा उद्योग, व्यापार र कार्यालयहरू केही दिनका लागि ठप्प हुने गर्छन् । यीनै क्षेत्रमा देशकै सबैभन्दा ठूलो विद्युत् खपत हुने भएकाले सार्वजनिक बिदाका दिन विद्युतको माग स्वाभाविक रूपमा घट्छ ।
अहिलेको अवस्थालाई हेर्दा नेपालमा दैनिक अधिकतम माग करिब २१–२२ सय मेगावाट छ । गत वर्षको फुलपाती र दशैंको दिन माग क्रमश: घट्दै १२ सय ५८ मेगावाटसम्म सीमित भएको थियो । यस वर्ष पनि माग १२–१५ सय मेगावाटमा झर्ने अनुमान प्राधिकरणले गरेको छ । जुन प्राधिकरणका लागि सुनौलो मौका हो ।
उत्पादन रोक्दा आपूर्तिमा असर नपर्ने भएकाले प्राधिकरणले मर्मतका लागि आवश्यक आयोजना बन्द गरेर बाँध क्षेत्रमा थुप्रिएका ढुंगा, बालुवा र लेदो हटाउने, उपकरण परीक्षण गर्ने र संरचनागत जाँच गर्ने योजना अघि सारेको छ ।
समयमै मर्मतको महत्त्व
जलविद्युत् आयोजना वर्षेनी बर्खाको बाढीले प्रभावित हुने गर्छन् । बाँध क्षेत्रमा जमेको गाद र ढुंगा समयमै हटाउन नसक्दा उत्पादन क्षमता घट्ने मात्र होइन, आकस्मिक क्षति हुने जोखिम पनि हुन्छ । खपत उच्च हुने समयमा यस्तो काम गर्दा आपूर्ति संकट आउने भएकाले माग कम हुने दशैंको जस्तै अवधिलाई प्राधिकरणले आदर्श समय मानेको हो ।
नेपालको कुल जडित विद्युत् क्षमता करिब ३८ सय मेगावाट पुगेको छ । आन्तरिक माग धान्दै बंगलादेशमा ४० मेगावाट र भारतमा करिब हजार मेगावाट निर्यात भइरहेको अवस्थामा बाँकी क्षमता मर्मतका लागि उपयोग गर्न प्राधिकरण लागि परेको छ ।
घरायसी खपतका लागि विशेष सतर्कता
उद्योग र व्यापार बन्द भए पनि दशैंको बेला घरायसी माग भने उच्च रहन्छ । परिवारजनको भेटघाट, खाना पकाउने, सजावट र इलेक्ट्रोनिक उपकरणको प्रयोग बढ्ने भएकाले वितरण केन्द्रहरूमा प्राविधिक कर्मचारीलाई सतर्क अवस्थामा राखिएको छ । अपवादबाहेक आपूर्तिमा अवरोध नआओस् भनेर आवश्यक तयारी पूरा गरिएको प्राधिकरणले जनाएको छ ।
दीर्घकालीन फाइदा
दशैंको बिदालाई मर्मतको समयका रूपमा प्रयोग गर्नु आर्थिक दृष्टिले पनि फाइदाजनक मानिएको छ । माग कम हुँदा पनि बाँकी विद्युत् भारत र बंगलादेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । समयमै गरिएको मर्मतले आगामी वर्षमा आकस्मिक मर्मत खर्च कम गर्छ र उत्पादन क्षमताको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ । दशैं धेरैका लागि विश्राम र रमाइलोको समय भए पनि प्राधिकरणका प्राविधिकका लागि देशको ऊर्जा सुरक्षा बलियो बनाउने महत्वपूर्ण क्षण हो ।













